जन ज्ञानकुञ्ज क्याम्पसमा विवादः उम्मेदवारी दर्ता प्रक्रिया अवरुद्ध, तालाबन्दी
जाजरकोट जिल्लाको छेडागाड नगरपालिकास्थित जन ज्ञानकुञ्ज क्याम्पस मा विद्यार्थी संगठनहरूबीचको विवादले निर्वाचन प्रक्रिया प्रभावित भएको छ। निर्धारित २ बजेपछि उम्मेदवारी दर्ताका लागि अनेरास्ववियू र नेविसंघ क्याम्पसमा आएका थिए, तर अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियू ले माइनट खोसेर मनोनयन दर्ता बन्द गराएको बताइएको छ।
यसक्रममा अनेरास्ववियूले निर्वाचन टिमलाई घेरेर दबाब दिएको र ५ बजे उम्मेदवारी दर्ता गराएको आरोप लागेको छ। नियमानुसार २७ गते बेलुकी ५ बजे नामावली प्रकाशन हुनुपर्नेमा २८ गते दिउँसो ३:३५ बजे मात्रै नामावली प्रकाशित गर्ने प्रयास भएपछि विवाद चुलिएको हो।
अखिल (क्रान्तिकारी) र समाजवादी निकट अनेरास्ववियू ले यस घटनालाई अस्वीकार्य भन्दै क्याम्पसमा तालाबन्दी गरेका छन्। निर्वाचन प्रक्रियालाई लिएर चर्किएको विवाद समाधानका लागि कुनै पहल भएको छैन।