नेभिगेशन
राजनीति

राप्रपा महामन्त्री राणाको दाबीः अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले राजा ज्ञानेन्द्र शाहलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ बताएका छन्। उनले राजालाई अब चाँडै राजगद्दीमा राख्ने उद्घोष गरे।

‘राजालाई जनताले काठमाडौँ एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ। अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन,’ राप्रपा महामन्त्री राणाले सोमबार राप्रपाद्वारा आयोजित मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै भने।

चैतमा हुने काठमाडौँ केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाइ गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौँ? चैट् गर्छौं,’ उनले भने, ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौँ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, संस्कृति पनि पुनःस्थापना गर्ने राणाले बताए। १४ अर्ब रुपैयाँ खाएर धर्म, रितिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टि भएको उनले बताए।

प्रतिनिधिसभा सदस्यसमेत रहेका राणाले उपस्थित सर्वसाधारणलाई काठमाडौँ केन्द्रित आन्दोलनमा भाग लिन चैत्रमा राजधानी आउन आमन्त्रण गरे।

वीरेन्द्र चोकमा कोणसभामा परिणत हुनुअघि मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update