नेभिगेशन
समाचार

पूर्वी नेपाल समाजवादी क्रान्तिको केन्द्र : किन र कसरी ?

पूर्वी नेपाल समाजवादी क्रान्तिको केन्द्र : किन र कसरी ?

२०५२ साल फागुन १ गते थालनी भएको जनयुद्धका आधार क्षेत्रहरू नै पुँजीवादी जनवादी क्रान्तिका केन्द्र थिए । सामन्तवादी उत्पीडन चर्को थियो । त्यसप्रकारको उत्पीडनविरुद्ध जनताको संगठित संघर्षका कारण उन्नत चेतना पैदा भयो ।

जनयुद्धको तयारीका क्रममा पैदा भएको उन्नत चेतनाका कारण मुख्य फौजी कारबाहीको सुरुवात रोल्पा, रूकुम, गोरखा, सिन्धुली र काभ्रेबाट भएको थियो । यो संघर्षसहितको उन्नत चेतना देशभरि फैलियो र जनयुद्धले एकपछि अर्को कीर्तिमान तयार गर्दै अगाडि बढ्यो ।

जनवादी क्रान्तिको मुख्य शक्ति किसान हुने हुनाले गाउँबाट सहर घेर्ने रणनीति अन्तर्गत ती जिल्लाहरू केन्द्र बन्नु स्वाभाविक नै थियो । अहिले हामी समाजवादी क्रान्तिको चरणमा छौँ । जहाँ पुँजीवादी उत्पीडन र शोषण चर्को हुन्छ, त्यहीँ संघर्षको केन्द्र बन्दछ । उन्नत चेतना पनि त्यहीँ हुन्छ । हिजो सामन्तवाद विरुद्धको संघर्षको चेतनाको केन्द्र पश्चिम थियो भने पुँजीवाद विरुद्धको चेतनाको केन्द्र पूर्व बन्नु स्वाभाविक र नियम सङ्गत कुरा हो ।संघर्ष मुख्यतः दलाल र नोकरशाही पुँजीवादका विरुद्ध केन्द्रित हुन्छ । समाजवादी क्रान्तिको मुख्य शक्ति मजदुर हुने हुनाले समाजवादी क्रान्तिको केन्द्र पुँजीवादको विकास भएको स्थान मुख्यतः सहरी क्षेत्र हुन्छ र हिजोका आधार क्षेत्रहरू समाजवादी उत्पादनका भ्रुण विकास गर्ने स्थानमा बदलिन्छन् । यसर्थ २०२८ सालको झापा विद्रोहको चेतना, २००७ सालको मजदुर आन्दोलनको पृष्ठभूमि र पूर्वी पहाडमा लामो समयदेखि पुँजीवादी उत्पादन प्रणाली अभ्यास भइरहेको सन्दर्भमा आउँदा समग्र पूर्वी नेपाल समाजवादी आन्दोलनको आधार क्षेत्र वा केन्द्र बन्दछ । यस प्रयोजनका लागि झापा, मोरङ, सुनसरी र इलाम महत्त्वपूर्ण जिल्ला हुन् । हिजोको रोल्पाको स्थान झापाले लिने सम्भावनालाई नकार्न सकिन्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update