केआइआइटी विश्वविद्यालयका केही अधिकारीहरूले नेपालविरुद्ध अनर्गल टिप्पणी गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कडा दबाब दिएको छ। घटनापछि विश्वविद्यालय प्रशासनले गहिरो खेद व्यक्त गर्दै तीन जना वरिष्ठ अधिकारीहरूको राजीनामा स्वीकृत गरेको छ भने दुई जना सुरक्षा कर्मचारीहरूलाई बर्खास्त गरेको छ।
नेविसंघले यस घटनाबारे भारतमा रहेका नेपाली विद्यार्थी, नेपाल परराष्ट्र मन्त्रालय, भारतस्थित नेपाली दूतावास, नेपालस्थित भारतीय दूतावास, भारतका अग्रणी विद्यार्थी सङ्गठन, र केआइआइटी विश्वविद्यालयका उच्च अधिकारीहरूसँग नियमित सम्पर्क राख्दै आएको जनाएको छ।
दूतावासका अधिकारीहरू विश्वविद्यालयमै
नेपाली दूतावासका अधिकारीहरू विश्वविद्यालय परिसरमा पुगेर विद्यार्थीहरूसँग संवाद गरिरहेका छन्। नेविसंघका अनुसार, परिस्थिति समाधान नभएसम्म नेपाली दूतावासका अधिकारीहरू त्यहीँ रहनेछन्।
केआइआइटी विश्वविद्यालय प्रशासनले परिस्थितिलाई सहज बनाउन प्रयास गरिरहेको बताउँदै प्रभावित विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पस फर्कन अपिल गरेको छ।
नेविसंघले प्रकृति लम्साललाई न्याय नपाएसम्म दबाब कायम राख्ने बताएको छ। साथै, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको द्रुत प्रतिक्रिया र कूटनीतिक पहलप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
"नेपाल विद्यार्थी संघ सँधै नेपाली विद्यार्थीहरूको हकहितको पक्षमा दृढ भएर उभिनेछ," नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ।