नेभिगेशन
राजनीति

दलहरुको घोषणापत्र राम्रा भए पनि संरचनात्मक सुधार नभए 'आकाशको फल' हुन्छ : डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ले दलहरूका चुनावी घोषणापत्रको गुणस्तर विगतको तुलनामा सुधारिएको भए पनि संरचनात्मक सुधारविना महत्वाकांक्षी लक्ष्यहरू पूरा नहुने टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले जनता, विशेषगरी युवाहरूको बढ्दो आकांक्षाले पुराना र नयाँ दलहरूलाई घोषणापत्रमा सकारात्मक सुधार गर्न बाध्य बनाएको उल्लेख गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना एजेन्डा तुलनात्मक रूपमा संक्षिप्त र स्पष्ट ढंगले प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन्।
महत्वाकांक्षी लक्ष्यहरूलाई सकारात्मक रूपमा लिँदै उनले आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६५/०६६ को बजेट वक्तव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा को पंक्ति ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक!’ उद्धृत गरेको स्मरण गरे। अहिले सबै दलले उच्च लक्ष्य राख्नु सकारात्मक संकेत भएको उनको भनाइ छ।
संसदमा आफूले पटक–पटक ‘दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’ को नारा अघि सारेको उल्लेख गर्दै उनले आर्थिक फड्को नमारेसम्म युवा बेरोजगारीको समस्या समाधान नहुने जिकिर गरे।
तर घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि ‘संरचनात्मक सुधार’ अनिवार्य रहेको उनको जोड छ। आन्तरिक रूपमा दिगो राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था आवश्यक रहेको तथा बाह्य रूपमा दुई ठूला छिमेकी अर्थतन्त्रसँग जोडिने गतिशील पुलको अवधारणा कार्यान्वयन गर्नुपर्ने उनले औंल्याए।
यी सुधार नगरी घोषणापत्रमा जति नै राम्रा कुरा लेखिए पनि त्यो ‘आकाशको फल आँखा तरी मर्’ जस्तै हुने उनको चेतावनी छ। शासकीय स्वरूप परिवर्तन र संरचनात्मक सुधारजस्ता विषयमा प्रमुख दलहरू मौन रहनु वा विपक्षमा उभिनु विडम्बनापूर्ण भएको उनको ठहर छ।
यद्यपि, उक्त विषयलाई उठाएकोमा उनले रास्वपाप्रति केही आशा व्यक्त गरेका छन्। निर्वाचनबाट स्पष्ट म्यान्डेट लिएर संरचनात्मक सुधार कार्यान्वयन गर्न सके मात्र नयाँ समृद्ध नेपालको सपना साकार हुने, अन्यथा यो निर्वाचन पनि कर्मकाण्डमा सीमित हुने उनले चेतावनी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update