नेभिगेशन
राजनीति

कुलमान नेतृत्वमा ‘उज्यालो नेपाल’ : पूर्वसचिव उपाध्याय संयोजक, जेन–जी समूह पनि समेटिँदै

कुलमान घिसिङको अगुवाइमा नयाँ राजनीतिक शक्ति ‘उज्यालो नेपाल पार्टी’ गठनको तयारी तीव्र बनेको छ । पूर्वऊर्जा सचिव अनुप उपाध्यायको संयोजकत्वमा पार्टी दर्ताको प्रक्रिया अघि बढाइएको हो ।

गत साउन २७ गते निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन दिइएको थियो । आयोगमा ज्ञानबहादुर तामाङले निवेदन दर्ता गराएका थिए । पार्टीको प्रस्तावित चुनाव चिह्न ‘बलिरहेको बिजुलीको चिम’ हो । मंगलबार आवश्यक कागजातसहित दल दर्ता प्रक्रिया अन्तिम चरणमा पुर्‍याइने उपाध्याय पक्षको तयारी छ ।

उपाध्यायका अनुसार, ‘उज्यालो नेपाल’ घिसिङकै अगुवाइमा अघि बढाइए पनि घिसिङले तत्काल पार्टीको कार्यकारी भूमिकामा नबस्नेछन् । उनले भने,

> “पार्टीले एक व्यक्ति–एक पदको सिद्धान्त फलो गर्छ । अहिले उहाँ मन्त्री हुनुहुन्छ, त्यसैले जिम्मेवारी नलिने तर सरकारबाट फर्किएपछि अध्यक्ष बन्ने तयारी हुनेछ ।”

सुमना श्रेष्ठ छुट्टिईन्

यसअघि घिसिङसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाहिरिएकी सुमना श्रेष्ठ पनि नयाँ दल गठनको प्रारम्भिक छलफलमा सहभागी थिइन् । तर अन्ततः ‘उज्यालो नेपाल’ नाम र नेतृत्वमा सहमति नजुटेपछि उनले छुट्टै बाटो समाउने निर्णय गरेकी छन् । श्रेष्ठले ‘जनसेवा पार्टी’ दर्ताको तयारी सुरु गरेकी छन् ।

श्रेष्ठले भनेकी छन्,

> “अब हामी ‘काउन्सिल अफ लिडर्स’को अवधारणामा अगाडि बढ्छौं ।”

 

उपाध्यायका अनुसार, श्रेष्ठले नयाँ दललाई शुभकामना दिएकी छन् र भविष्यमा सहकार्यको सम्भावना खुला राखेकी छन् ।

जेन–जी समूह पनि सक्रिय

घिसिङ निकट सुधन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूह पनि ‘उज्यालो नेपाल’मा समेटिएको छ । गुरुङले सातै प्रदेशमा जेन–जी संयोजक तोकेका छन् 

‘उज्यालो नेपाल’ले सरकारमा गएपछि पार्टीको जिम्मेवारी त्याग्नुपर्ने व्यवस्था विधानमा समावेश गर्ने तयारी गरेको छ । उपाध्याय संयोजक रहेको ५१ सदस्यीय केन्द्रीय समिति आयोगमा दर्ता गर्न तयारी भइरहेको छ, जसमा गुरुङ पक्षका जेन–जी नेताहरू पनि समावेश हुनेछन् ।

ऊर्जा क्षेत्रमा ‘उज्यालोको प्रतीक’ मानिएका कुलमान घिसिङ अब राजनीतिक उज्यालो फैलाउने तयारीमा छन् । ‘उज्यालो नेपाल’ नाममै उनले नयाँ आशा र विकल्पको सन्देश दिन खोजेका छन् — देशमा पारदर्शिता, जवाफदेहिता र व्यावहारिक नेतृत्व ल्याउने अभियानको रूपमा ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update