नेभिगेशन
राजनीति

‘म झोले हो’ भन्दै ओलीको नयाँ अभियान : मोदीको ‘मै भी चौकीदार’को झल्को, सामाजिक सञ्जालमा आलोचना पनि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘झोले’ शब्दलाई गौरवको रूपमा प्रस्तुत गर्दै नयाँ राजनीतिक अभियानको सुरुवात गरेका छन्। गत शनिबार बुद्धिजीवी परिषद्को कार्यक्रममा ‘म नेकपा एमालेको झोले हुँ’ भन्ने अभिव्यक्तिपछि ओलीले सार्वजनिक रूपमै यसै अभियानलाई संस्थागत रूपमा अगाडि बढाएका हुन्।

सो अभिव्यक्तिपछि सोमबार ओलीले ‘म झोले हो’ लेखिएको आफ्नो फोटोसहितको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरे। त्यस पोस्टरमा लेखिएको छ, “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम हो।” यो पोस्टर एमाले नेतादेखि भ्रातृ संगठन, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरूले पनि व्यापक रूपमा शेयर गरेका छन्।

ओलीको भनाइ यस्तो थियो:
१७ जेठमा आयोजित बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनमा ओलीले भनेका थिए,
“म कबुल गर्छु– झोले हो। जनताको झोले हो। राम्रा कुरा बोक्न बनेका झोलामा दलाली गरेर हिँड्दैन। जनताको हितको झोला बोक्ने, गौरवको झण्डा माथि उठाउने, परिवर्तनको झोला बोक्ने झोले हो। कुनै सामन्तको दुई कौडी लिएर सामन्तको झोला बोकेको छैन।”

मोदीको ‘मै भी चौकीदार’सँग तुलना
यो अभियानलाई भारतको सन् २०१९ को लोकसभा चुनावअघिको मोदीको चर्चित ‘मै भी चौकीदार’ अभियानसँग तुलना गरिएको छ।
त्यसबेला कांग्रेस नेता राहुल गान्धीले मोदीलाई लक्ष्य गर्दै ‘चौकीदार चोर है’ नारा दिएका थिए। त्यसको जवाफस्वरूप मोदीले ‘मै भी चौकीदार’ अभियान सञ्चालन गर्दै आफ्नो ट्वीटर नाम ‘चौकीदार नरेन्द्र मोदी’ बनाएका थिए। भाजपाका हजारौं नेताहरू, कार्यकर्ताहरू र समर्थकहरूले पनि यही शैलीमा सामाजिक सञ्जाल सजाएका थिए।

एमालेको ‘झोले अभियान’ कत्तिको प्रभावकारी?
मोदीको ‘मै भी चौकीदार’ अभियानले भारतीय चुनावमा ठूलो प्रभाव पारेको थियो भने ओलीको ‘झोले’ अभियानले भने सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ। केहीले यसलाई नयाँ राजनीतिक प्रतीकको रूपमा स्वागत गरेका छन् भने धेरैले ‘मोदीको कपी’ भन्दै आलोचना गरेका छन्।

राजनीतिक सन्देश दिन शैलीगत प्रयोग?
ओलीको यो पहललाई केही विश्लेषकहरूले विपक्षीहरूद्वारा प्रयोग गरिने व्यंगात्मक शब्दलाई नै सशक्तता दिन खोजिएको प्रयासका रूपमा हेरेका छन्। तर, यथार्थमा यो अभियान जनस्तरमा कत्तिको प्रभाव पार्छ भन्नेचाहिँ समयले देखाउनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update