नेभिगेशन
राजनीति

तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी हानाहान, वडाध्यक्षसहित चार जना घाइते

 नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र हिंसात्मक बन्यो, जब दुई समूहबीचको विवादले झडपको रुप लिँदा खुकुरी प्रहारमा चार जना घाइते भए।

शनिबार बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा जारी अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि छनोटको विषयमा उत्पन्न विवादले उग्र रुप लिँदा झडप भयो। सोही क्रममा खुकुरी प्रयोग गरिएको प्रहरीले जनाएको छ।

घाइतेहरूमा तरुण दल लमजुङका क्षेत्रीय सभापति तथा बेँसीसहर–९ का वडाध्यक्ष खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहोराका अनुसार गम्भीर घाइते भएका खुसीजङ्ग गुरुङ र सुदीप अधिकारीलाई सिएमी चितवन मेडिकल कलेज, भरतपुरमा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार पूर्णकालीन सदस्यता र प्रतिनिधि छनोट प्रक्रियालाई लिएर दुई पक्षबीच विवाद चुलिँदा झडप भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जनएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update