हङकङमा जारी चारदेशीय टी- २० आई सिरिजअन्तर्गत बिहीबार नेपालले आफ्नो दोस्रो खेलमा कुवेतको सामना गर्दैछ।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउण्ड मा हुने यो खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे शुरु हुनेछ।
यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।
यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ। बिहीबारको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। यस्तै अर्को खेलमा हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्।
यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।