नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर सीता राना मगरले टी-२० अन्तर्राष्ट्रिय खेलमा करिअरकै उत्कृष्ट बलिङ गरेकी छिन्।
सीताले आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध ५ विकेट लिँदै करिअरकै उत्कृष्ट बलिङ गरेकी हुन्।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच भइरहेको अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेस्रो खेलमा सीताले ३ ओभरमा ५ विकेट लिँदा १२ रन मात्र दिइन्।
यसअघि सीताको टी-२० अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन ५ विकेट लिँदा १६ रन खर्चनु थियो। उनले सन् २०२३ को अगस्टमा मलेसियामा भएको सिरिजमा हङकङविरूद्ध ४ ओभरमा ५ विकेट लिँदा नेपालले हङकङलाई ८४ रनमा समेटेको थियो। नेपालले लक्ष्य ४ विकेटको क्षतिमा पूरा गरेको थियो।