नेभिगेशन
समाचार

पूर्वराजाको सक्रियताले सोच्न बाध्य दलहरू

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै जनआह्वान गरे- देश बचाउने हो भने मलाई साथ दिनुहोस्, त्यागलाई कमजोरी नठानियोस्।

पूर्वराजाको त्यो आह्वानलाई राजावादी दलहरू राप्रपा, राप्रपा नेपाललगायतले ठूलो रूपमा मात्रै लिएनन्, सडक आन्दोलन नै गरे। उनीहरूले देशका ठूला सहरहरूमा समर्थन सभा नै गर्दै हिँडे। जहाँ उनीहरूले ठूलो स्वरमा भने- देशमा राजा फर्किनैपर्छ, नफर्किए देश डुब्छ।

यसपछि झन्डै एक महिना पोखरा बसेर फर्किएका उनै पूर्वराजा ज्ञानेन्द्रको सम्मानमा यिनै दल तथा अन्य साना-तिना राजावादी शक्तिहरूले गत फागुन २५ गते अभिनन्दन मात्रै गरेनन्, हजारौंको सङ्ख्यामा सहभागीहरूले पूर्वराजाको पक्षमा नाराबाजी नै गरे।

हजारौंको भीडको बीचमा हात हल्लाउँदै सवार पूर्वराजा ज्ञानेन्द्रको त्यो दृश्यले प्रजातन्त्र/लोकतन्त्रवादी दलहरूको आँखा बिझायो। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरूले पनि राजाको सक्रियताका प्रति आ-आफ्नै गच्छेअनुसार खबरदारी गरे। यसरी कि मानौँ, राजा केही दिनमै शक्तिमा फर्किँदैछन्।

त्यसो त यस पटकको राजावादी आन्दोलन सदाका आन्दोलनभन्दा जनसहभागिताका दृष्टिले बढी सफल देखियो। यसबाट राजावादी शक्तिहरू थप हौसिए भने प्रजातन्त्र/लोकतन्त्रवादी शक्तिहरू एक हदसम्म झस्किए।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरूले निरन्तर खबरदारी गरे, कसैले सार्वजनिक मञ्चहरूमा बोलेर त कसैले सदनमा बोलेर, कसैले विज्ञप्ति नै जारी गरेर त कसैले सामाजिक सञ्जालमा लेखेर।

सार्वजनिक मञ्चहरूमा पूर्वराजा र उनका समर्थक शक्तिहरूमाथि 'जाइलागेका' यी नेता र उनीहरूका दलका अरु नेताहरूले सदनमा राजा शब्द रेकर्डबाट हटाउन मागसमेत गर्न भ्याए। यसअघि बसेको संसद् बैठकमै एमाले सांसद हेमराज राईले 'राजा' शब्द रेकर्डबाटै हटाउनुपर्ने माग गरे। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले दर्जनौं ठाउँ पूर्वराजा ज्ञानेन्द्रको सक्रियताप्रति निर्मम टिप्पणी गरे। एमाले महासचिव शंकर पोखरेलले त पूर्वराजा ज्ञानेन्द्रलाई चुनावमा गएर दुईतिहाइ ल्याउन चुनौती नै दिए।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष दाहालले त बढी निहुँ खोजे उनलाई निर्मल निवासबाटै पनि हटाउने चेतावनीसमेत दिए। राजावादी आन्दोलनलगायतका घटनाका कारण नै तराई-मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएका दाहालले दलहरू सचेत रहनुपर्ने पनि बताएका छन्। उनले भनेका छन्, 'परिआए हजारौं मान्छे सडकमा उत्रिन र उतार्न पनि तयार हुनुपर्छ। तर, हामीले पनि सोचेर काम गर्नुपर्छ।'

माओवादी केन्द्र सचिव दीनानाथ शर्माले पनि राजावादी गतिविधि उग्र भएको भन्दै संविधानविपरीतका गतिविधिमा नउत्रिनका लागि आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update