नेभिगेशन
खेलकुद
Khelkud

मध्यपश्चिम विश्वविद्यालयलाई जय नेपाल कप क्रिकेटको उपाधि

नेपालको मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप अन्तरविश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा भारतको लखउन विश्वविद्यालयलाई ५८ रनले हराउँदै मध्यपश्चिम विश्वविद्यालय च्याम्पियन भएको हो।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको यस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल आठ विश्वविद्यालयले प्रतिष्पर्धा गरेका थिए। बंगलादेशको एक, भारतको तीन र नेपालका चार विश्विद्यालयलले जय नेपाल कप टी–२० प्रतियोगितामा प्रतिष्पर्धा गरेका हुन्।

फाइनलमा दिवान पुन र विपिन खत्री चम्किँदा मध्यपश्चिमले भारतीय टोलीमाथि सहज जित निकालेको हो। मध्यपश्चिमले १७६ रनको लक्ष्य दिएको थियो। जवाफी लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो।

लखनउका ओपनर मनन कन्दपालले ५८ रन, हर्षवर्धन सिंहले १५ रन र यस वर्धन सिंहले १४ रनको योगदान दिए। मननले ५७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। त्यसबाहेक अन्यले ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको टोली मध्यपश्चिमका बलरले अनुशासित बलिङ गरे। दिवान पुनले तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। उनले चार ओभरमा २२ रन दिए। दिवान प्लेयर अफ द फाइनलमा पनि भए।

राजकुमार शाहले दुई तथा दिनेश अधिकारी, सुवास भण्डारी र रविन्द्रजंग शाहीले समान एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७५ रन जोड्यो। मध्यपश्चिमको सुरुवात राम्रो हुन सकेको थिएन। ३८ रन जोड्दा नै चार विकेट गुमाइसकेको थियो।

तर, दिवान र विपिनले अर्धशतकीय इनिङ्स खेल्दै मध्यपश्चिमलाई राम्रो स्थितिमा पुर्‍याए। दिवान ५८ रनमा रनआउट हुँदा विपिन ५९ रनमा नटआउट रहे।

दिवानले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। २८ बलमा खेलेका विपिनको इनिङ्समा पाँच चौका र चार छक्का रह्यो। ओपनर निश्चल रावलले १९ र राजकुमार शाहले १५ रनको योगदान दिएपछि मध्यपश्चिमले राम्रो योगफल बनाएको हो। मध्यपश्चिमले अतिरिक्त १२ रन पनि पायो।

लखनउले सात बलर प्रयोग गरे पनि सबै महँगा रहे। अभिशेक सोनी, मनन र हर्षवर्द्धनले समान एक विकेट लिँदा अन्य विकेटविहीन भए। प्रतियोगिताका विजेतालाई खेलाडीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले पुरस्कृत गरे।1738069572-1axie-1738082645.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update