नेभिगेशन
विश्व

युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ भनेको छ।

युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबीच अकल्पनीय विवादबीच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीको एक प्रश्नको जवाफमा भने, “यो दृष्टिकोण सामान्यतया सकारात्मक छ ।”

अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीबाट प्राप्त पत्रलाई ठूलो स्वरमा पढेर सुनाएका थिए जसमा युक्रेनी नेताले आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए । क्रेमलिनले जेलेन्स्कीसँग वार्ता गर्ने कि नगर्ने भन्नेमा पटक–पटक शङ्का व्यक्त गर्दै आएको छ । 

बुधबार पेस्कोभले जेलेन्स्कीले जारी गरेको आदेशको हवाला दिँदै पुटिनसँग प्रत्यक्ष वार्ता गर्न नमिल्ने बताएका थिए ।  युक्रेनी नेताले धेरै पटक पुटिनलाई भेट्न आफू इच्छुक रहेको बताउँदै आएका छन् ।  यद्यपि, किएभ र उसका पश्चिमी सहयोगीहरूले वार्ताको साझा अडानमा सहमति जनाएपछि मात्र यो सम्भव हुने बताएका छन् । 

मस्कोले सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएपछि जेलेन्स्कीको पाँच वर्षे कार्यकाल समाप्त भएको भन्दै वार्ताका लागि वैध नेता नभएको आरोप लगाएको छ । युक्रेनको सैनिक कानुनअनुसार युद्धकालमा चुनावमाथि प्रतिबन्ध लगाइएको छ ।

गत शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय (ओभल अफिस) मा जेलेन्स्कीसँग भएको चर्काचर्कीपछि ट्रम्पले किएभलाई अमेरिकी सैन्य सहायता रोक्ने घोषणा गरेका थिए ।   ट्रम्पले युक्रेनलाई मस्कोको पक्षमा रहेको शान्ति सम्झौता स्वीकार गर्न बाध्य पार्न खोजेको हो कि भन्दै किएभ र युरोपभरि नै आशङ्का व्यक्त गरिएको छ । 

यसैबीच रुसी सेनाले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को एउटा सानो गाउँ कब्जामा लिएको मस्कोस्थित रक्षा मन्त्रालयले जनाएको छ ।अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु) को तथ्याङ्कअनुसार रुसले धेरै जमिन कब्जा गरे पनि फेब्रुअरीमा रुसको प्रगतिको गति सुस्त भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update