नेभिगेशन
विश्व

इरानमा सैन्य आक्रमण स्थगित गर्न ट्रम्पलाई इसराइल र अरब राष्ट्रहरूको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि सैन्य आक्रमणको योजना स्थगित गर्न इसराइल र प्रमुख अरब राष्ट्रहरूले आग्रह गरेका छन्। इरानमा बढ्दो हिंसात्मक प्रदर्शन र त्यसको सम्भावित क्षेत्रीय असरलाई ध्यानमा राख्दै उनीहरूले संयम अपनाउन दबाब दिएका हुन्।


अमेरिकी अखबार द न्यूयोर्क टाइम्स का अनुसार इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमाथि सैन्य हमला नगर्न आग्रह गरेका थिए। नेतन्याहूले यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता झनै बढ्न सक्ने चिन्ता व्यक्त गर्दै सैन्य कारबाहीको योजना तत्काल स्थगित गर्न अनुरोध गरेका हुन्।


यसैबीच कतार, साउदी अरब, ओमान र इजिप्टजस्ता अमेरिकाका प्रमुख साझेदार अरब राष्ट्रहरूले पनि ट्रम्पलाई इरानमाथि आक्रमण गर्ने योजनाबाट पछि हट्न आग्रह गरेका छन्। ती राष्ट्रहरूले यस्तो कदमले ठूलो क्षेत्रीय युद्ध भड्किन सक्ने चेतावनी दिएको न्यूयोर्क टाइम्सले जनाएको छ। उनीहरूले वाशिङ्टन र तेहरान दुवैसँग संवाद गर्दै तनाव कम गर्न दबाब दिइरहेका छन्।
ट्रम्पले यसअघि इरानमा प्रदर्शनकारीमाथि दमन जारी रहे सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका थिए। उनले इरानमा हमला गर्ने विकल्पबारे आफ्ना वरिष्ठ सुरक्षा सल्लाहकार र सैन्य अधिकारीहरूसँग छलफल भइरहेको र पूर्वतयारीस्वरूप मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाबाट केही कर्मचारी फिर्ता बोलाइएको जानकारी पनि बाहिरिएको थियो।


तर ट्रम्पले हालै “अत्यन्तै महत्वपूर्ण स्रोतहरू”बाट इरानमा प्रदर्शनकारी हत्या रोकिनुका साथै फाँसीको प्रक्रिया अघि नबढाइएको सूचना पाएको बताएका छन्। यसले तत्काल सैन्य कारबाहीबाट अमेरिका पछि हट्न सक्ने संकेत देखिएको छ। यद्यपि अमेरिकी अधिकारीहरूका अनुसार सबै सैन्य विकल्पहरू पूर्ण रूपमा त्यागिएको छैन र अन्तिम निर्णय इरानी सुरक्षा निकायहरूको आगामी कदममा निर्भर रहनेछ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प र नेतन्याहूबीच संवाद भएको पुष्टि गरे पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिनन्। उनले इरानले योजनाबद्ध फाँसी स्थगित गरेको रिपोर्ट प्राप्त भएको र हिंसा जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने सन्देश इरानी नेतृत्वलाई दिइएको बताइन्।


इरानी अधिकारीहरूका अनुसार पछिल्ला १७ दिनमा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिकी मानवअधिकारवादी संस्थाहरूले मृतक संख्या २६ सय नाघेको दाबी गरेका छन्। यस अवधिमा १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
बढ्दो तनावकै बीच इरानका विदेशमन्त्री अब्बास अराक्ची र ट्रम्पका मध्यपूर्वसम्बन्धी विशेष दूत स्टिभ विटकोफबीच हुने भनिएको संवाद पनि स्थगित भएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छाड्न निर्देशन दिँदै तेहरान हेर्ने ‘भर्चुअल’ अमेरिकी दूतावासमार्फत सुरक्षा चेतावनी जारी गरेको छ।


यसैक्रममा अमेरिकाले इरानमाथि दबाब बढाउन इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको भए पनि त्यसको कार्यान्वयनबारे ह्वाइट हाउसले हालसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update