नेभिगेशन
विश्व

अमेरिकाले इरानलाई आत्मसमर्पण गराउन खोजेको हो : आयातोल्लाह खामेनेई

बेपत्ताको चर्चा भइरहेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले बिहीबार सार्वजनिक रूपमा देशवासीका नाममा सम्बोधन गरेका छन्। राजधानी तेहरानबाट टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले अमेरिकाको पछिल्लो सैन्य आक्रमणको कडा आलोचना गरे।

खामेनेईले अमेरिकाको आक्रमण इरानको आणविक कार्यक्रम रोक्न नभई इरानलाई घुँडा टेकाउने नियतले भएको दाबी गरे। "कहिले मानव अधिकार, कहिले महिलाका अधिकार, अनि कहिले आणविक वा मिसाइल कार्यक्रमलाई बहाना बनाइन्छ, तर यी सबैको सार एउटै हो – उनीहरू इरानलाई आत्मसमर्पण गराउन चाहन्छन्," उनले स्पष्ट पारे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख गर्दै खामेनेईले भने, "ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न आह्वान गरेका थिए, तर इरानजस्तो महान् राष्ट्रका लागि ‘समर्पण’ भन्ने शब्द उच्चारण गर्नु आफैँमा अपमान हो।"

खामेनेईले युद्धका क्रममा अमेरिकाले ‘अत्यधिक अतिशयोक्ति’ गरेको आरोप लगाए। उनले भने, "इरानको आणविक केन्द्रमा आक्रमण गरेर अमेरिकाले कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन। बरु उनीहरूले आफ्नो असफलतालाई ढाकछोप गर्न गलत प्रचार गरे।"

उनका अनुसार इरानले अमेरिकी सैन्य उपस्थितिको एक मुख्य आधारमा प्रत्यक्ष हमला गर्‍यो, तर अमेरिकाले त्यसलाई सामान्य बनाउने प्रयास गर्‍यो। साथै उनले यो आक्रमण इजरायलको संरक्षणका लागि गरिएको भन्दै आरोप लगाए, "अमेरिका प्रत्यक्ष युद्धमा होमियो किनभने उसलाई लाग्यो, यदि उसले साथ दिएन भने इजरायली शासन पूरै नष्ट हुने थियो।"

आयातोल्लाह खामेनेईले सम्बोधनको क्रममा इरानी जनताको राष्ट्रिय एकताको पनि उच्च प्रशंसा गरे। "झण्डै ९० लाख जनसंख्या भएको राष्ट्र एक स्वरमा उभियो। जनताले आफ्नो सशस्त्र बलप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक पर्दा एउटै स्वरमा बोल्न सक्छ भन्ने कुरा प्रमाणित गर्‍यो," उनले भने।

सम्बोधनको अन्त्यमा खामेनेईले दृढताका साथ भने, "यो युद्धमा इरान विजयी भयो र अमेरिकाको गालामा एक कडा चड्कन हान्यो।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update