करिब १६ महिनाअघि 'लर्न एन्ड अर्न' कार्यक्रम अन्तर्गत इसराइल पुगेका १० जना नेपाली युवाको ज्यान गयो। ती युवा इसराइल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परेका थिए।
आक्रमणको एक महिनाअघि मात्र सुदूरपश्चिम विश्वविद्यालयले बिएससी एग्रिकल्चर (कृषिमा स्नातक) तहका ४९ जना विद्यार्थीलाई कृषिकर्मका लागि इसराइल पठाएको थियो। तीमध्ये १० जना २०८० असोज तेस्रो साता हमासको आक्रमणमा परेर बिते। त्यही समूहका विपिन जोशीलाई हमासले बन्धक बनाएको छ। त्यस हिंसात्मक आक्रमणमा अन्य केही व्यक्ति पनि मारिए, बेपत्ता बनाइए। विपिन अझै रिहा भएका छैनन्।
उक्त घटनापछि भारत, थाइल्यान्ड, भियतनाम, लाओस, श्रीलंका लगायत मुलुकबाट इसराइल पुगेका धेरै आप्रवासीहरू स्वदेश फर्के। कतिपय नेपालीहरू भने त्यही बेला विभिन्न मुलुकको बाटो हुँदै इसराइल पुगे।
सेतोपाटीलाई प्राप्त जानकारी अनुसार इसराइली सेना र हमासबीच युद्ध चर्किरहेकै बेला कम्तीमा १५० जना नेपाली पर्यटक भिसामा इसराइल पुगेका छन्। हाल उनीहरू कृषिमा काम गर्दै छन्।
'प्रवासी नेपाली मञ्च, इसराइल' का उपाध्यक्ष शिवराज खड्काको अनुमान अनुसार पर्यटक भिसामा इसराइल पुगेका करिब तीन सय नेपाली कृषि कामदारका रूपमा कार्यरत छन्। ती नेपालीहरू वैधानिक हैसियतमा छन्। उनीहरूले कामको अनुमति पाएका छन् तर नेपाल सरकारबाट श्रम स्वीकृति पाएका छैनन्।
युद्ध चर्किरहेको जोखिमपूर्ण समयमा पनि नेपालीहरू किन गए इसराइल? नेपालले श्रम स्वीकृति स्थगित गरेको समयमा उनीहरू कसरी पुगे?
यसबारे हामीले त्यहाँ काम गर्न गएकै तीन युवासँग कुरा गरेका छौं।
धादिङका राजन दुवाडी इसराइल पुग्दा युद्ध चर्किँदो थियो। हमासले बेलाबेला मिसाइल हानिराख्थ्यो। त्यस्तो बेला साइरन बज्थ्यो। उनी एक सासमा बंकरभित्र पस्थे। कम्तीमा १० मिनेट बंकरमा बसेपछि फेरि काममा फर्किन्थे।साइरन बजेपछि फेरि बंकरभित्र छिर्थेँ। दिनभरिमा पटकपटक यस्तो हुन्थ्यो,' उनले भने।
राजन २०२४ जनवरी १० मा पर्यटक भिसामा इसराइल पुगेका हुन्। उनी त्यसअघि पनि 'पढ्दै कमाउँदै' कार्यक्रम अन्तर्गत सन् २०१३ मा गएका थिए।
उनका अनुसार इसराइलमा स्वदेशी नागरिकसरह आप्रवासीलाई पनि सुरक्षा व्यवस्था हुन्छ।
'आफन्तहरूले युद्ध छ, नजाऊ भन्दा पनि डर पैतालामा राखेर आएँ। राम्रो कमाइ हुने भएकैले आउनुपरेको हो,' उनले भने, 'नेपालमै काम गरौं न त भन्दा कमाइ छैन। यहाँ इसराइलमा अवसर पाएको बेलामा किन छोड्ने भनेर आएँ।'
उनी इसराइल पुगेर काम सुरू गरिसक्दा पनि परिवारजन बेचैन थिए। फोन गरेर हालखबर सोधिरहन्थे। अहिले पैसा कमाउनु पर्दैन, फर्किहाल् भन्थे। राजन भने उनीहरूलाई ठिकै छ, समस्या छैन भन्दै काम गरिरहे।
राजन हाल एउटा कुखुरा फार्ममा काम गर्छन्। उनका अनुसार सात वटा खोरमा साढे दुई लाख कुखुरा छन्। कुखुराका लागि कुलर, हिटर, प्रकाश, दानापानी सबैको आधुनिक व्यवस्था छ।
'म एक्लै साढे दुई लाख कुखुरा हेर्न सक्छु। नेपालमा परिवारका सबै खट्दा पनि एक हजार कुखुरा हेर्न भ्याइँदैन। नेपालमा बजार पनि छैन। डुब्नु परे किसान एक्लै हुन्छ। सरकारले कुनै जिम्मेवारी लिँदैन,' उनले भने, 'इसराइलमा नाफाको ग्यारेन्टी हुन्छ। कुखुराको बीमा भएको हुन्छ। बजार राम्रो छ।'
राजन नेपाल छँदा एउटा गैरसरकारी संस्थामा काम गर्दै थिए। पहिले इसराइलमा कृषि सिकेका थिए तर नेपालमा कृषिकर्म गर्न सकेका थिएनन्।
अब भने पाँच वर्षपछि फर्केर आधुनिक तरिकारले कुखुरापालन गर्ने सोचेका छन्। उनलाई इसराइली किसानले पनि सहयोगको आश्वासन दिएका छन्।
'मैले प्राविधिक सहयोगको वचन पाएको छु। सबै सुविधा जुटाउने हो भने एक-दुई लाख कुखुरा सजिलै पाल्न सकिने रहेछ। कुखुरापालनमा आत्मविश्वास बढेको छ,' उनले भने।
राजन हाल मासिक कम्तीमा दुई लाख रूपैयाँ कमाइ गर्दै छन्। उनका अनुसार इसराइल पुगेको आप्रवासी कामदार पाँच वर्षपछि फर्किनै पर्छ। पर्यटक भिसामा इसराइल पुगेर कामदार बनेका आफूजस्ता तीन सय युवाको श्रम स्वीकृतिमा नेपाल सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।
श्रम स्वीकृति नभएका कारण नेपाल आउजाउमा समस्या परेको उनले बताए।