सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको मृत्युका विषयमा अनुसन्धान गरेको प्रहरीले घटना दबाउन बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको छ ।
मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वको टोली घटनास्थलमै गएर अनुसन्धान गरिरहेको छ । सो क्रममा मध्यराति भएको घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको हो ।
आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७:२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।