नेभिगेशन
समाचार

माननीय खगेन्द्र सुनारको पहल : प्रधानमन्त्रीसमक्ष बाँकेको समग्र विकासदेखि दलित समुदायसम्मका मुद्दा प्रभावकारी रूपमा उठान

लुम्बिनी प्रदेशका माननीय खगेन्द्र सुनारले आज सम्माननीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै बाँके क्षेत्र नं. ३ को समग्र विकाससँग सम्बन्धित बहुआयामिक एजेन्डा सशक्त रूपमा प्रस्तुत गरेका छन्। उनले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, उद्योग र सामाजिक न्यायसँग जोडिएका विषयहरूलाई प्राथमिकतामा राख्दै लिखित माग पेस गरेका हुन्।


सुनारले लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण, नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन, मानखोला–करेली खोला तटबन्धन, वन्यजन्तु आरक्ष क्षेत्रमा पर्खाल निर्माण तथा सडक स्तरोन्नतिका योजनालाई तीव्रता दिन आग्रह गरेका छन्। साथै, सिक्टा सिंचाई आयोजना र भेरी–बबई डाइभर्सन परियोजनाको प्रभावकारी कार्यान्वयन, खजुरा क्यान्सर अस्पतालको स्तरोन्नति तथा किसान, मजदुर र सुकुम्बासी समुदायका समस्याको दीर्घकालीन समाधानका विषयलाई पनि उनले गम्भीर रूपमा उठाएका छन्।


भेटका क्रममा उनले दलित समुदायसँग राज्यले औपचारिक माफी माग्दै नयाँ कार्यक्रम घोषणा गर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल कार्यदल गठन गर्न सुझाव दिएका थिए। यसमा प्रधानमन्त्रीले समन्वयका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, सुनचाँदी व्यवसायीहरूको समस्याप्रति ध्यानाकर्षण गराउँदै शीघ्र समाधानको माग गरिएकोमा प्रधानमन्त्रीले सरोकारवालासँग चाँडै छलफल गरी समाधान खोज्ने आश्वासन दिएका छन्।


माननीय सुनारले भेटलाई उपलब्धिमूलक र परिणाममुखी भन्दै “देश पहिला” भन्ने सोचका साथ विकास, समावेशिता र जनजीविकासँग जोडिएका मुद्दालाई अघि बढाउने दृढता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update