काठमाडौँमा उपत्यकामा विभिन्न समयमा खानेपानी र ढलका पाइपहरू फुट्ने समस्या नयाँ होइन । मेलम्चीको पानी काठमाडौँमा ल्याइएसँगै खानेपानीका पाइप फुट्ने समस्या बढेको छ ।
२०७७ फागुन २२ गते फ्लसिङ टनेलमार्फत मेलम्चीको पानी सुन्दरीजलमा खसालिएको थियो । २०७७ चैत १५ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चुच्चेपाटीको महाँकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरेको थियो । शुभारम्भसँगै काठमाडौँ उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानीको वितरण भइरहेको छ ।
यसबाट सरकारी पूर्वाधार क्षेत्रमा काम गर्ने प्रणाली र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ । साथै पूर्वाधार क्षेत्रमा काम गर्ने सरकारी निकायबिच आपसी समन्वय हुन नसकेको देखिन्छ । यसले पनि सरकारी निकायहरूबिच समन्वय र समझदारीविना काम गर्दा समस्या भएको देखाएको छ ।
लैनचौरमा तीन वर्षअघि फुटेको थियो पाइप
२०७९ मंसिर २६ गते मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा लैनचौर क्षेत्र जलमग्न भएको थियो । जसका कारण सडक भत्किनुका साथै पैदल यात्रु र सवारी आवागमनसमेत प्रभावित भएको थियो ।
गत मंसिरमा नयाँ बजार क्षेत्रमा पनि खानेपानीको पाइप फुट्दा यस्तै भएको थियो । सानो र पुरानो पाइपमा पानीको चाप बढी भएकाले पाइप फुटेको केयूकेएलले जनाएको थियो । मेलम्चीको पानी वितरणसँगै यस्ता धेरै ठाउँमा समस्या आएका छन् ।
ठेकेदारको लापरबाही कि कम गुणस्तरको पाइप ?
गत बुधबार बबरमहलमा भएको घटनामा पाइप गुणस्तरभन्दा पनि ठेकेदारको लापरबाहीका कारण भएको काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता चन्द्रकुमार श्रेष्ठ बताउँछन् । नेपाल विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको उनले बताए ।
पानी वितरणका लागि बिछ्याएको २० इन्च मोटो फलामे पाइपको गुणस्तरमा कमी नभएको श्रेष्ठले दाबी गरे । निर्देशनालयले ठेक्का सम्झौता हुँदा नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरको पाइप बिछ्याएकाले गुणस्तरमा कमजोरी भन्न नमिल्ने उनको भनाइ थियो
पिआइडीका प्रवक्ता श्रेष्ठका अनुसार मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्चको पाइप गाडेको छ । विद्युत् प्राधिकरणले तार भूमिगत गराउने योजनाअन्तर्गत त्यसैमाथि खन्ने क्रममा फलामे पाइप फुटेको बताए । प्राधिकरण काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले आफूहरूका कारण पाइप फुटेको स्वीकार पनि गरिसकेको छ ।
खानेपानीका ४२ हजार ३९ वटा पाइप
विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनहरूले साना ठुला गरी करिब ४२ हजार ३९ वटा पाइपमार्फत खानेपानी विभागले उपत्यकामा पानी वितरण गरिरहेको छ । यसबाट करिब २८ लाख ४२ हजार ७ सय २१ घरहरूमा निजी तथा सार्वजनिक धाराबाट खानेपानी सेवा प्रदान गरिरहेको देखिन्छ ।
।