काठमाडौँ । भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । मृतक लम्साल इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो ।