नेभिगेशन
समाचार

हाइड्रोजन भरिएका बेलुनबाट कसरी आगो लागि भयो?

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी पोखरा भ्रमण वर्ष २०२५ घोषणा सभामा तीन तरिकाले कार्यक्रमको उद्घाटन गरिँदै थियो।

पहिलो स्विच अन गरेर डिजिटल पानसमा बत्ती बाल्ने। दोस्रो, स्पार्किङ मेसिनबाट आगोको झिल्को निकाल्ने र तेस्रो बेलुनमा ब्यानर उडाउने। 

पहिलो र दोस्रो तरिकाले उद्घाटन कार्यक्रम सकिएको थियो। तेस्रो तरिकाले उद्घाटन गर्न हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा तयार अवस्थामा थियो।

पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार तेस्रो चरणको उद्घाटन गर्न बेलुनको एउटा झुप्पा अर्थमन्त्री विष्णु पौडेलले समातेका थिए। अर्को झुप्पा पोखराका मेयर धनराज आचार्यले समातेका थिए।

तिम्सिानाका अनुसार एउटा झुप्पामा ३० वटा जति हाइड्रोजन भरिएका बेलुन थियो। दुइटा झुप्पामा गरेर ६० वटा जति बेलुनमा बाँधेर पोखरा भ्रमण वर्षको व्यानर उडाउने तयारी थियो।

बेलुनमा ब्यानर बाँधेर उडाउने बेलासम्म दोस्रो तरिका अनुसारको उद्घाटन गर्दा आगोको झिल्का आउन छाडेकै थिएन। जन्मदिन मनाउन प्रयोग गरिने आगो झिरझिर जस्तै स्पार्किङ मेसिनबाट निरन्तर आगोको झिल्का माथि उडिरहेको थियो। 

हाइड्रोजन भरिएका बेलुन उडाउन ठिक्क पारिएका बेला आगोको उक्त झिल्का बेलुनमा पुग्यो। दुइटै बेलुनका झुप्पा अचानक बम पड्किए जसरी पड्किन पुग्यो। त्यसरी पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य जलनको शिकार बन्न पुगे। 

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा हाइड्रोजन भरिएका बेलुन पड्किँदा जलनमा परेका अर्थमन्त्री पौडेललाई गण्डकी अस्पताल र मेयर आचार्यलाई फिष्टेल अस्पताल लगियो। अस्पतालले थप उपचार गर्न कीर्तिपुर अस्पताल रिफर गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update