पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै उच्च पारिश्रमिक लिने खेलाडीको सूचीको पहिलो स्थानमा रहन सफल भएका छन् । स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिकोले सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष एक सयभित्र महिला खेलाडी भने परेनन् ।
शीर्ष एक सयको सूचीमा फुटबल, एनबीए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले वर्चश्व जमाएका छन् । यी खेलाडीले संयुक्त रूपमा गत वर्ष ६.२ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ । जसमा ४.८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशि तथा १.४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको हो ।
रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासारसँगको आकर्षक सम्झौता कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनाएको हो । उनको कुल आय २६० मिलियन डलर छ । गत साता आफ्नो ४० औं जन्मदिन मनाएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ ।
दोस्रो स्थानमा एनबीए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी छन् । उनको गत वर्षको आम्दानी १५३.८ मिलियन डलर थियो । जुन रोनाल्डोको भन्दा एक सय मिलियन डलरभन्दा बढीले कम हो ।
बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहे । शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि छन् । उनको आम्दानी १३५ मिलियन डलर छ ।
एन्जल्स लेकर्सका फरवार्ड लेवोर्न जेम्स पाँचौं स्थानमा परेका छन् । उनी एनबीए खेल्ने एक मात्र ४० वर्षका एथ्लिट हुन् । शीर्ष एक सयभित्र २७ देशका आठ खेलका खेलाडी परेका छन् ।
२०२३ मा अमेरिकाकी टेनिस खेलाडी कोको गौफ महिलातर्फ सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेकी थिइन् । यो पटक भने महिला खेलाडी शीर्ष एक सयभित्र पर्न सकेनन् ।