नेभिगेशन
समाचार

नेपालन्जमा नेविसंघद्वारा सामाजिक सञ्जाल विधेयकको विरोधमा प्रदर्शन

बाँके- महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सामाजिक सञ्जाल विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नेविसंघका विद्यार्थीहरूले सरकारको नियन्त्रात्मक नीतिको विरोध गर्दै ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘रोजगार त दिएनौ, बोल्न त देऊ सरकार’, ‘स्वतन्त्रताको सुरक्षा, अभिव्यक्तिको अधिकार’, ‘प्रश्नसँग डराएको सरकार’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारको पक्षमा नारा लगाएका थिए। उनीहरूले ‘प्रेस स्वतन्त्रता जिन्दावाद! वाक स्वतन्त्रता जिन्दावाद!’ भन्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणको माग गरे। सरकारको प्रस्तावित विधेयकले स्वतन्त्र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई खुम्च्याउने खतरा रहेको भन्दै उनीहरूले विधेयकको खारेजीको माग गरेका छन्।

नियमन होइन, नियन्त्रणको प्रयास
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूका अनुसार सरकार नियमनको नाममा डिजिटल मिडिया तथा सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने योजनामा लागेको छ। ‘लोकतन्त्रमा नागरिकलाई स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने अधिकार रहनुपर्छ,’ एक विद्यार्थी नेताले भने, ‘सरकारको नीति नियमनको नाममा नियन्त्रणमुखी देखिन्छ, जुन कुनै पनि हालतमा स्वीकार्य छैन।’

विरोधका स्वरहरू र सरकारको प्रतिक्रिया
प्रदर्शनकारीहरूले सरकारप्रति आक्रोश व्यक्त गर्दै ‘निरंकुश सरकार मुर्दाबाद’को नारा लगाएका थिए। उनीहरूको दाबी छ कि प्रस्तावित विधेयक लागू भएमा नागरिक स्वतन्त्रता संकुचित हुनेछ र सूचना प्रवाहमा अवरोध सिर्जना हुनेछ। यद्यपि, सरकारले विधेयक अभिव्यक्तिको नियन्त्रणका लागि नभई जिम्मेवार डिजिटल वातावरण बनाउन ल्याइएको बताउँदै आएको छ।

विद्यार्थीहरूका अनुसार यदि सरकार विधेयक फिर्ता नलिए थप आन्दोलनको घोषणा गरिनेछ। ‘लोकतन्त्रमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदमप्रति हाम्रो सशक्त प्रतिरोध रहनेछ,’ एक आन्दोलनकारीले चेतावनी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update