नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्सको च्याम्पियन्स ट्रफी टुर मंगलबार भैरहवा आइपुगेको छ। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा ट्रफी सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए।
मंगलबार बिहान ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गराइएपछि दिउँसो सिद्धार्थ रंगशालामा ल्याई विशेष कार्यक्रमबीच सेलिब्रेसन गरिएको हो। एनपिएल च्याम्पियन्स ट्रफी टुर ५ पुसमा बाँके र बर्दियाबाट सुरु गरिएको थियो। लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ट्रफी टुर गर्ने योजनाअनुसार मंगलबार भैरहवामा कार्यक्रम आयोजना गरिएको हो।
सेलिब्रेसन कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले एनपिएल विजेता टिम लुम्बिनी लायन्सलाई ट्रफीसहित स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेय, नगर प्रमुख खाँ, उपप्रमुख अधिकारी, संघका अध्यक्ष थापा, लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी तथा नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ललगायत वक्ताहरूले क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनीहरूले क्रिकेटको दिगो विकासका लागि सरकारको तर्फबाट आवश्यक खेल पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
वक्ताहरूले यसपटक लुम्बिनी लायन्सले एनपिएलको उपाधि जित्न सफल भएकामा प्रदेशवासी हर्षित भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे। यसअघि लुम्बिनी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले एनपिएल विजेता लुम्बिनी लायन्सलाई ११ लाख ११ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ।
ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, क्रिकेटप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।