जाजरकोट। ५० शय्याको जिल्ला अस्पताल भनिएको जाजरकोट अस्पताल अहिले दुर्गमका जनताका लागि भरोसाको केन्द्र होइन, सास्तीको थलो बनेको छ। अस्पतालको बोर्ड ठूलो छ, भवन भव्य छ, तर भित्र औषधि र सेवा भने रित्तो छ।

कुशे र बारेकोटबाट आउने बिरामीको बिचल्ली
जिल्लाका अति दुर्गम मानिने कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाबाट घण्टौँको पैदल र महँगो गाडी भाडा तिरेर बिरामीहरू उपचारका लागि सदरमुकाम आइपुग्छन्। तर, अस्पताल पुग्दा उनीहरूले पाउने जवाफ एउटै हुन्छ— "औषधि बाहिर किन्नुहोस्।"
प्रेस्क्रिप्सनहरू हेर्दा देखिन्छ कि सामान्य दम (COPD) र पिसाबको संक्रमण (UTI) जस्ता रोगका लागि चाहिने औषधि समेत अस्पतालमा छैन। अचम्मको कुरा त के छ भने, ग्यास्ट्रिकका लागि खाइने 'खाली पेट खाने सामान्य औषधि' (Pantoprazole/Antacid) सम्म अस्पतालमा उपलब्ध छैन। निःशुल्क पाइने औषधि त टाढाको कुरा, बिरामीले आफ्नै पैसाले अस्पतालको फार्मेसीबाट किन्न खोज्दा समेत औषधि नपाएर बाहिरका निजी पसल धाउनुपर्ने बाध्यता छ। जाजरकोटबाटै प्रतिनिधित्व गर्ने पूर्व मन्त्री तथा सांसद शक्ति बहादुर बस्नेतले पटक-पटक मन्त्री पद सम्हाल्दा पनि जिल्लाको स्वास्थ्य पूर्वाधार र औषधि अभाव हटाउन खासै ठोस पहल गर्न नसकेको भन्दै जनतामा ठूलो गुनासो छ। पहुँचवाला नेताहरू केन्द्रमा बलियो भए पनि आफ्नै गृह जिल्लाका जनता सिटामोल नपाएर छटपटाउनु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन।

तेस्तै हालका कर्णाली प्रदेशको अर्थमन्त्री राजीव विक्रम शाह यसै जिल्लाका हुन्। विगतमा हैजा, स्वाइन फ्लु, कोभिड र भुकम्प जस्ता महामारीमा उनले पुर्याएको व्यक्तिगत स्वास्थ्य सेवाका कारण जनताले उनलाई ठूलो भरोसा गरेका थिए। तर, उनी सत्ताको बागडोर सम्हाल्ने र बजेट विनियोजन गर्ने मुख्य ठाउँ (अर्थ मन्त्रालय) मा पुग्दा पनि जिल्लाको स्वास्थ्य अवस्थामा तात्विक परिवर्तन आउन नसक्नु दुःखद रहेको स्थानीय बताउँछन्।उनिले जाजरकोट छेडागाड नगरपालिका बडाबनमा विगतमा अस्पताल बनाउनका लागि विभिन्न परियोजनासँग साझेदारी गरिएका संरचनाहरू अहिले अलपत्र छन्। ती अधुरा भवनहरू जंगलले ढाकिएका छन् र त्यहाँ बिरामीको सट्टा गाईवस्तु र चौपाया बस्ने गरेका छन्। कागजी रूपमा दरबन्दी धेरै देखाइए पनि व्यवहारमा अस्पताल जनशक्ति र औषधि विहीन छ। जुनिचादे कुशे र बारेकोट कुशे र बारेकोट जस्ता दुर्गम ठाउँबाट रोग निको पार्ने आशामा आएका गरिब जनता रित्तो हात फर्किनु पर्ने यो अवस्थाले जाजरकोटमा 'राज्य छ' भन्ने अनुभूति हुन सकेको छैन। ३ पटकसम्म सांसद र पटक-पटक मन्त्री दिने जाजरकोटले कहिलेसम्म रोग, भोक र शोकको यो चक्र भोगिरहनुपर्ने हो? यो गम्भीर प्रश्न बनेको छ।

७ पालिका, ५ अस्पताल: कुशे र शिवालय अझै उपेक्षित
जिल्लाभरको स्वास्थ्य संरचना हेर्दा ४ वटा पालिकामा आधारभूत अस्पताल र सदरमुकाममा स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) गरि जम्मा ५ वटा अस्पतालहरू छन्। तर, विडम्बना! कुशे गाउँपालिका र शिवालय गाउँपालिका मा अझैसम्म एउटा पनि आधारभूत अस्पताल बन्न सकेको छैन।
सामान्य उपचारका लागि पनि यहाँका जनताले छिमेकी पालिका वा सदरमुकाम धाउनुपर्ने बाध्यता छ। भएका ५ वटा अस्पतालमा औषधि छैन, नभएका पालिकामा अस्पताल बनाउने योजना अलपत्र छ।