नेभिगेशन
स्वास्थ्य

मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोगले युवामा बढ्यो ‘ड्राइ आइ’ समस्या

अहिले पछिल्ला वर्षहरूमा आँखा सुक्खा हुने समस्या (ड्राइ आइ) तीव्र रूपमा बढ्दै गएको छ । पहिले उमेर बढ्दै जाँदा देखिने समस्या मानिने यो अवस्था अहिले भने युवा उमेर समूहमा समेत व्यापक देखिन थालेको नेत्र विशेषज्ञ डा. कमलबहादुर खड्काले बताएका छन् ।
उनका अनुसार बदलिँदो वातावरण, बढ्दो प्रदूषण तथा मोबाइल, कम्प्युटर र अन्य डिजिटल स्क्रिनको अत्यधिक प्रयोगका कारण युवामा आँखासम्बन्धी समस्या बढ्दै गएको हो ।
आँखामाथि रहेको ग्रन्थिले आँसु उत्पादन गर्छ, जसले आँखालाई चिसो तथा सुरक्षित राख्ने काम गर्छ । तर धुलो, धुँवा, प्रदूषण र लामो समयसम्म स्क्रिनमा केन्द्रित हुँदा आँसुको तह चाँडै सुक्ने र कर्नियाको सतह सुख्खा बन्ने समस्या उत्पन्न हुने डा. खड्का बताउँछन् ।
उनका अनुसार बढ्दो उमेर, कन्ट्याक्ट लेन्सको प्रयोग, न्युरोलोजिकल समस्या, लेजर आँखाको शल्यक्रियापछि तथा स्मार्टफोन र कम्प्युटरको अत्यधिक प्रयोगका कारण पनि आँसु उत्पादनमा असर पुग्ने गर्छ ।
“लगातार स्क्रिन हेर्दा मानिसले आँखा कम झिम्काउँछ, जसले आँसु चाँडै सुक्छ,” डा. खड्काले भने, “त्यसैले २० मिनेट स्क्रिन हेरेपछि कम्तीमा २० सेकेण्ड २० फिट टाढा हेर्ने बानी गर्नुपर्छ ।”
उनले ब्लु कट चश्माको प्रयोगले स्क्रिनबाट आउने विकिरणलाई केही हदसम्म कम गर्न सहयोग गर्ने बताए । साथै धुलो, धुँवा र घामबाट आँखालाई जोगाउन पावर भएको वा नभएको चश्मा प्रयोग गर्न पनि सुझाव दिएका छन् ।
आँखा सुक्खा हुँदा देखिने लक्षण
आँखा सुक्खा हुँदा आँखा पोल्ने, पिरो हुने, रातो हुने, टट्याउने, दुख्ने, आँखा चिम्लाएर बस्न मन लाग्ने तथा पटक–पटक झिम्किने जस्ता समस्या देखिने डा. खड्का बताउँछन् ।
उनका अनुसार यस्तो समस्या देखिएमा आँसुको मात्रा परीक्षण गर्नुपर्छ । सामान्यतया आँसुको मात्रा २५ देखि ३५ मिलिमिटरसम्म हुनुपर्नेमा त्योभन्दा कम भएमा आँखामा सुख्खापन बढ्दै गएको बुझिन्छ ।
“सुरुवाती अवस्थामा औषधि र आँखा ड्रपबाट नियन्त्रण गर्न सकिन्छ,” उनले भने, “समयमै उपचार नगरे आँखाको नानीमा घाउ भएर कर्निया अल्सरसमेत हुन सक्छ ।”
कतिपय अवस्थामा सामान्य शल्यक्रियासमेत आवश्यक पर्न सक्ने उनले बताए ।
हेरचाहमा ध्यान दिन आग्रह
डा. खड्काले आँखा सुक्खा हुने समस्या भएका व्यक्तिले लामो समयसम्म लगातार स्क्रिन नहेर्न, बीच–बीचमा विश्राम लिन, टाढा हेर्ने अभ्यास गर्न तथा चिकित्सकको सल्लाहमा कृत्रिम टियर्स प्रयोग गर्न सुझाव दिएका छन् ।
आँखालाई स्वस्थ राख्न पौष्टिक आहार, पर्याप्त निद्रा, नियमित सरसफाइ तथा पर्याप्त पानी पिउनु आवश्यक रहेको उनले बताए ।
यसैगरी बाहिर निस्कँदा चश्मा लगाउने, हेल्मेटको भाइजर प्रयोग गर्ने, आँखा पटक–पटक झिम्काउने बानी बसाल्ने तथा हेयर ड्रायर, एयर कन्डिसनर र फ्यानको अत्यधिक प्रयोग नगर्न पनि उनले आग्रह गरेका छन् ।
डा. खड्काका अनुसार बालबालिकाको आँखाको नियमित परीक्षण गराउनु आवश्यक छ भने ४० वर्षपछि वर्षमा कम्तीमा एकपटक आँखा जाँच गराउनुपर्छ । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले भने प्रत्येक ६–६ महिनामा आँखाको परीक्षण गराउनुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update