नेभिगेशन
स्वास्थ्य

जनशक्ति अभावले कर्णाली प्रदेश अस्पतालको सेवा विस्तार प्रभावित

कर्णाली प्रदेशको प्रमुख रेफरल स्वास्थ्य संस्था कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गए पनि चिकित्सक तथा प्राविधिक जनशक्तिको अभावले सेवा विस्तार प्रभावित भएको छ। दैनिक १,५०० देखि २,००० जनासम्म बिरामीले ओपीडी सेवा लिने अस्पतालमा हाल करिब ५० जना चिकित्सकसहित विशेषज्ञ, नर्सिङ र प्राविधिक जनशक्तिको अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ। १५० शय्याका लागि ३२५ जनाको स्वीकृत दरबन्दी रहे पनि २०१ जना मात्रै स्थायी कर्मचारी कार्यरत छन्। १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये स्थायी रूपमा एक जना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ। हाल अधिकांश विशेषज्ञ सेवा संघबाट काजमा आएका चिकित्सक र करार जनशक्तिको भरमा सञ्चालन भइरहेको छ। ५०० शय्या सञ्चालन गर्न सक्ने भवन निर्माण भए पनि आवश्यक कर्मचारी अभावका कारण हाल ३०० शय्या मात्रै सञ्चालनमा छन्। करोडौं रुपैयाँका आधुनिक उपकरण अस्पतालमा उपलब्ध भए पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा केही उपकरण पूर्ण रूपमा प्रयोग हुन सकेका छैनन्। अस्पतालकी प्रशासन प्रमुख अनिता ज्ञवालीका अनुसार जनशक्ति व्यवस्थापन नहुँदा सेवा विस्तार मात्र होइन, हाल सञ्चालनमा रहेका सेवालाई निरन्तरता दिनसमेत चुनौती थपिएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश थापाले रिक्त दरबन्दी पूर्ति, विशेषज्ञ चिकित्सक व्यवस्थापन तथा आवश्यक बजेट सुनिश्चित गर्न प्रदेश र संघीय सरकारको विशेष पहल आवश्यक रहेको बताए। अस्पतालको तथ्यांकअनुसार ओपीडी सेवा लिने बिरामीको संख्या निरन्तर बढिरहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म मात्रै १ लाख ६६ हजार ३११ जनाले ओपीडी सेवा लिएका छन् भने १८ हजार ७६३ जनाले आकस्मिक सेवा उपयोग गरेका छन्। स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि ठूलो संख्यामा सेवाग्राही लाभान्वित भइरहेका छन्। चालु आर्थिक वर्षको चैतसम्म ९६ हजार ३८८ बीमित सेवाग्राहीले सेवा लिएका छन्। तर स्वास्थ्य बिमाबाट प्राप्त गर्नुपर्ने करिब ३० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको अस्पतालले जनाएको छ। बढ्दो बिरामी चाप, रिक्त जनशक्ति र आर्थिक चुनौतीका बीच कर्णाली प्रदेश अस्पतालले सेवा सञ्चालन गरिरहेकाले आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनमा सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update