नेभिगेशन
मनोरञ्जन

कुशे गाउँपालिका–५ ढिमेमा ऐतिहासिक झादेब मेला पुस १७ देखि २२ गतेसम्म आयोजना हुँदै

जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं. ५, ढिमेमा परापूर्वकालदेखि प्रत्येक पाँच/पाँच वर्षमा लाग्दै आएको ऐतिहासिक झादेब मेला यस वर्ष पनि आयोजना हुने भएको छ।

झादेब देवताको नामबाट परिचित यो मेला पुस १७ गतेदेखि पुस २२ गतेसम्म सञ्चालन हुने मेलाको आयोजक समितिले जनाएको छ।

स्थानीय जनविश्वासअनुसार झादेब देवताको इतिहास परापूर्वकालसम्म फैलिएको छ। बुढापाकाहरूका कथनअनुसार पहिले–पहिले यस मेलामा मानव बलि (भाञ्जालाई बलि दिने चलन) समेत रहेको भन्ने भनाइ सुनिँदै आएको पाइन्छ। समयक्रमसँगै परम्परामा सुधार हुँदै हाल भने साँढे र भेडा बलि दिने चलन कायम रहेको छ।

परम्परागत विधिअनुसार साँढेलाई जीवितै हिँडाइ छातीमा खुकुरी प्रहार गरी मुटु निकालेर झादेब देवतालाई चढाउने परम्परा रहेको छ। साथै, एक वटा साँढे छोड्ने चलन पनि यस मेलाको महत्वपूर्ण विशेषता हो।

मेलाको उद्देश्य झादेब देवता तथा यस क्षेत्रको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रचार–प्रसार गर्नुका साथै स्थानीय संस्कृति, पर्यटन, उत्पादन र बजारिकरणलाई प्रवर्द्धन गर्नु रहेको आयोजक समितिले जनाएको छ।

खेलकुद तथा सांस्कृतिक कार्यक्रम

 

मेलाको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छन्।

जसअन्तर्गत:

खुला पुरुष भलिबल प्रतियोगिता

खुला महिला भलिबल प्रतियोगिता

नृत्य प्रतियोगिता

लोक–दोहोरी प्रतियोगिता

अन्य स्थानीय सांस्कृतिक प्रस्तुती 

विशेषगरी भलिबल प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

👉 भलिबल प्रतियोगिताको विजेता टोलीलाई नगद रु. १ लाख १५ हजार पुरस्कार प्रदान गरिनेछ।

लोकसंस्कृतिको विशेष आकर्षण

मेलामा खाडो नाच, पञ्चेबाजा, मयुर नाच, ठाडी भाका, देउडा गीत, पैसैरु नाच, सिङ्गारु नाच, ख्याली नाच तथा खुकुरी नाच लगायतका परम्परागत लोकसंस्कृति झल्काउने कार्यक्रमहरू पनि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ।

अध्यक्ष टेक राज मल्लद्वारा सम्पूर्णमा निम्तो

मेलाका अध्यक्ष टेक राज मल्लले झादेब मेला धार्मिक आस्था, सांस्कृतिक गौरव र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै

कुशे गाउँपालिका, जाजरकोट जिल्ला मात्र नभई देश–विदेशमा रहेका सम्पूर्ण श्रद्धालु, कला–संस्कृति प्रेमी, खेलप्रेमी युवा तथा आम नागरिकहरूलाई ऐतिहासिक झादेब मेलामा उपस्थित भई सफल बनाउन हार्दिक निमन्त्रणा गर्नु भएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update