गत असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता गठबन्धन बनाएर सरकार गठन गर्ने सातबुँदे सहमति बन्यो। त्यसबमोजिम एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री बने। अहिले पनि उनी प्रधानमन्त्री छँदैछन्।
सातबुँदे सहमतिमा ओली डेढ वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवा डेढ वर्ष प्रधानमन्त्री बन्ने उल्लेख छ। उक्त समयावधिअनुसार ओली अझै एक वर्ष प्रधानमन्त्री पदमा नै रहनेछन्।यद्यपि, यसबीचमा कांग्रेस-एमालेको सम्बन्ध चिसिँदै गएको चर्चा भएको थियो। खासगरी प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवहरूमार्फत कांग्रेसी मन्त्रीमाथि 'क्रस रिपोर्टिङ' गर्ने गरेको, मन्त्रीहरूलाई अनावश्यक रूपमा पेल्ने गरेको, बीआरआईमा स्पष्ट अडान लिन नसकेको, सातबुँदे सहमतिअनुसार हुनुपर्ने संविधान संशोधनको भाखा पाँच वर्ष पर सारेकोलगायतका विषयले कांग्रेस-एमालेबीच अविश्वास सिर्जना हुँदै गएको बताइन्थ्यो।
तर, देउवाले भने ओलीका प्रति दृढ विश्वास रहेको बताएका छन्। मङ्गलबार (आज) पोखरा पुगेका उनले भनेका छन्, 'ओलीलाई अविश्वास गर्नुपर्ने कारण छैन। वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ। धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो।’
उसो त सातबुँदे सहमतिअनुसार देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन्। कांग्रेसको 'टेन्डेन्सी' पनि चुनावी सरकारको नेतृत्व नै देखिन्छ। देउवाले पुन:एकपटक चुनावी सरकारको नेतत्व गर्न चाहेका छन्विगत हेर्दा सहमति पालनामा कांग्रेस अरु दलहरूभन्दा इमान्दार नै देखिँदै आएको छ। यसर्थ, सातबुँदे सहमतिमा पनि कांग्रेसले सहमति नतोड्ने नेताहरूले बताउँदै आएका छन्। देउवा निकट नेता मीन विश्वकर्मा भन्छन्, 'कांग्रेसले कहिल्यै सहमति तोड्दैन। सहमतिअनुसार अगाडि बढ्छ। कांग्रेसले चुनावी सरकारको नेतृत्व गर्छ। सरकारका प्रति अविश्वास गरिहाल्नुपर्ने कारण छैन नै।'