नेभिगेशन
प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ। प्रदेश सभाको आज साँझ ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रमुख एजेण्डा यही रहेको छ। यससँगै सरकारले आगामी वर्षको नीति, प्राथमिकता र कार्यदिशा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

यसअघि, मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बिहीबार राति अबेरसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो। राति ११ बजेसम्म चलेको उक्त बैठकमा नीति तथा कार्यक्रमको मस्यौदामा केही बुँदागत संशोधन आवश्यक ठहरिएपछि बैठकबाट औपचारिक स्वीकृति दिन सकिएको थिएन।
मुख्यमन्त्री शाहले आजै प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेका छन्। संशोधनपछिको मस्यौदालाई मन्त्रिपरिषद् बैठकमार्फत स्वीकृत गरी प्रदेश प्रमुखमार्फत सार्वजनिक गरिनेछ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुने योजनाहरूले आगामी वर्षको समृद्धि, पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सरकारको प्राथमिकता के रहनेछ भन्ने स्पष्ट पार्नेछ।

संसदीय प्रक्रिया अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसमा छलफल हुनेछ। छलफलपछि सुझावसहित पारित गरिने संविधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update