नेभिगेशन
प्रदेश

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा ७२ किलोमिटर सडक कालोपत्रे गरेको छ। यो अघिल्लो वर्षको तुलनामा लगभग समान मात्रामा पक्की सडक निर्माण भएको संकेत हो। प्रदेश सरकार गठन भएदेखि हालसम्म कूल २४६.५९ किलोमिटर पक्की (कालोपत्रे) सडक निर्माण सम्पन्न भएको छ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार २०७७/७८ मा ३३.०२ किलोमिटर, २०७८/७९ मा १५.९० किलोमिटर, २०७९/८० मा ३० किलोमिटर सडक कालोपत्रे गरिएको थियो।

गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड ६६ लाख ६४ हजार रुपैयाँ सडक निर्माणतर्फ बजेट विनियोजन गरिएर ४२० वटा सडक योजना कार्यान्वयनमा ल्याइएको थियो। जसमध्ये केही योजना बहुवर्षीय छन् भने केही साना–ठूला टुक्रे योजनाका रूपमा सञ्चालनमा छन्।

सुर्खेतमा सबैभन्दा बढी कालोपत्रे

प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी कालोपत्रे सडक निर्माण भएको देखिन्छ। भौतिक पूर्वाधार विकास निर्देशनालय, सुर्खेतका इञ्जिनियर प्रेमचन्द पाण्डेका अनुसार एक वर्षमा मात्रै करिब १९ किलोमिटर सडक कालोपत्रे गरिएको हो। योमध्ये १२ किलोमिटर वीरेन्द्रनगर नगरपालिकामा मात्र निर्माण भएको छ।

गत वर्ष सुर्खेतमा ८० करोडभन्दा बढीका २६ वटा सडक आयोजना कार्यान्वयनमा थिए। यीमध्ये कतिपय बहुवर्षीय योजना हुन् भने केही टुक्रे योजना हुन्। प्रदेश सरकारले स्थापना कालदेखि हालसम्म सबैभन्दा बढी पक्की सडक यही जिल्लामा निर्माण गरेको छ।

ट्र्याक खोल्ने काम तीव्र, स्तरोन्नति सुस्त

मन्त्रालयका सूचना अधिकारी श्रद्धा बस्यालका अनुसार गत वर्ष ३१७.९ किलोमिटर नयाँ ट्र्याक खोलिएको छ। अघिल्लो वर्ष यो संख्या ३९८.२३ किलोमिटर थियो। अहिले सम्म प्रदेशभर तीन हजार किलोमिटरभन्दा बढी ट्र्याक खोलिएको छ।

यद्यपि, सडक स्तरोन्नति (ग्राभेल र कालोपत्रे) को गति भने कमजोर देखिएको छ। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यी कच्ची सडकहरूले जनतालाई सहजता भन्दा बढी सास्ती दिइरहेका छन्।

ग्राभेल सडक निर्माणको अवस्था

गत वर्ष ९७.५९२ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ। अघिल्लो वर्षसम्म ६२०.०६ किलोमिटर ग्राभेल सडक निर्माण भइसकेको थियो। तर स्तरोन्नतिको गति कमजोर हुँदा ग्रामीण क्षेत्रका अधिकांश सडक चारै मौसममा चल्न सक्ने अवस्थामा छैनन्।

आयोजना ढिलाइ: बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ५०% मात्र प्रगति

पश्चिम सुर्खेतको मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे खण्डको १३.९ किलोमिटर सडक अझै अपूरो छ। २०७९ असार १४ गते सुरु भई २०८१ असार २४ गते सम्पन्न गर्ने सम्झौता भएको भए पनि भौतिक प्रगति ५० प्रतिशतभन्दा कम मात्र भएको छ।

यस आयोजनाको ठेक्का सांसद दीक्पाल कुमार शाहीको कम्पनी जयदेव जेभी नेपालगन्जले ४२ करोड ५८ लाख ६० हजार रुपैयाँमा पाएको थियो। तर रुख कटानको अनुमति ढिलो पाउनु र अन्य प्रशासनिक जटिलताले आयोजना लम्बिएको हो।

अर्को ठुलो ढिलाइ: कान्छाराम कन्स्ट्रक्सनद्वारा निर्माण

वीरेन्द्रनगरको प्लानिङ्ग क्षेत्रका १५ वटा सडक निर्माणका लागि २०७८ मा १२ करोड ९४ लाख ३७ हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। काम २०७९ फागुनमा सकिनुपर्ने भए पनि म्याद दुई पटक थप्दा पनि समयमा नसकिने अवस्था आएपछि निर्देशनालयले ठेक्का सम्झौता रद्द गरेको छ।

३४ झोलुङ्गे र १३ पक्की पुल निर्माण

मन्त्रालयका अनुसार गत वर्ष कर्णाली प्रदेशका विभिन्न खोलानालामा ३४ वटा झोलुङ्गे पुल र १३ वटा पक्की (सडक) पुल निर्माण गरिएको छ।

प्रदेश सरकारले सडक निर्माणको गतिमा निरन्तरता दिएको भए पनि ठेक्कापट्टा प्रणाली, कार्यान्वयनको ढिलाइ र बजेट खर्चको प्रभावकारीता अझै चुनौतीका रूपमा देखिएका छन्। ट्र्याक खोल्नेभन्दा स्तरोन्नतिको काममा ध्यान दिन नसक्दा नागरिकले वर्षायाममा हिलो र हिउँदमा धुलो झेल्नु परेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update