रियाद । ४० औँ जन्मदिन मनाउन लागेका क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल नासरले एसियन च्याम्पियन्स लिगमा अल वासलमाथि शानदार जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा अल नासर ४–० गोलले विजयी बन्यो ।
बुधबार ४० वर्ष पुग्न लागेका रोनाल्डोको क्लब करियरमा यो ७ सयौँ जित पनि थियो । सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर साउदी क्लब पुगेका रोनाल्डोले क्लबसँग हासिल गरेको यो ६६ औँ जित थियो ।
उनले सन् २००२ को अगस्तमा आफ्नो व्यावसायिक फुटबल करियर सुरुवात गरेका थिए । स्पोर्टिङ सीपीसँग १३ खेल जितेका उनी सन् २००३ मा युनाइटेड पुगेका थिए । त्यहाँ दुई स्पेलमा उनले २१४ वटा खेल जिते । ३४६ खेलमा उनले १४५ गोल गर्न सफल भए ।