नेभिगेशन
समाचार

प्रसाईंलाई भेट्न चिनिएका कुनै नेता हिरासत पुगेका छैनन् ।

राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं करिब एक सातादेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।

हिरासतमा रहेका प्रसाईंलाई तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका बारेमा कुनै ग्लानी छैन । बरु उनी बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै छुट्नेमा आत्मविश्वासी देखिन्छन् । भारतको आसाममा २८ चैतमा पक्राउ परेर २९ चैतमा काठमाडौं ल्याउने क्रममा समेत उनले आफैं आएको दाबी गरेका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयदेखि अदालत लाने-ल्याउने क्रममा क्यामेरा अगाडि मुसुक्क हाँसेर पोज दिइहाल्ने प्रसाईं शैली हिरासतमा पनि उस्तै रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रसाईं पक्राउ परेपछि अदालत जाने क्रममा समेत अन्टसन्ट बोलेर हैरान पार्नसक्ने चिन्ता प्रहरी अधिकारीलाई थियो । हुन पनि, पक्राउ परेपछि झापाको चन्द्रगढीस्थित विमानस्थलबाट काठमाडौं ल्याउने क्रममा विमान भित्रैबाट प्रधानमन्त्री केपी ओलीलाई यो फोटो पठाइदिनू भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रसाईं हिरासतमा एक्लै बस्दै आएका छन् । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई समेत अलग्गै राखिएको छ । यसबारे परिसर भन्छ, ‘परिसरमा ठूलो हिरासत कक्ष छ । पहिलाको जस्तो कोचाकोच गरेर राख्नुपर्ने अवस्था छैन । त्यही भएर प्रसाईंलाई छुट्टै राखिएको हो ।’

२९ चैतदेखि परिसरको हिरासतमा रहेका प्रसाईंको बयान सुरु भएको छैन । अहिलेसम्म प्रहरीले उनीमाथि अनुसन्धान गर्ने र सामान्य सोधपुछ मात्रै गरेको छ । केही दिनपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं उपस्थित गराएर बयान सुरु गरिने प्रहरीले जनाएको छ ।

यही घटनामा पक्राउ परेका मिश्र र राणाको भने सोमबार र मंगलबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । दुई दिनपछि उनीहरूको बयान सकिएको र थप अनुसन्धान गर्दा केही खुलेमा फेरि बयानको काम हुने सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले बताए । मिश्र र राणाविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा बयान लिइए पनि प्रसाईंविरुद्ध भने अन्य कसुर पनि थपिने भएको छ ।

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका छन् । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ ।

यसका साथै आपराधिक उपद्रवको कसुरमा पनि प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइएको छ । अहिलेसम्म प्रसाईंविरुद्ध एक साथ चार वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोहको कसुर, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइएको थियो । यसमा ज्यान मार्ने उद्योगको कसुर र आपराधिक उवद्रव पनि थपिएसँगै चार वटा कसुरमा एक साथ अनुसन्धान अघि बढाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update