बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो ।
निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो ।
आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए ।
पालिकाले बजेट विनियोजन गरे दुई महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । विसं २०८० भदौमा बुझाएको एक करोड १० लाखको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए ।
पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ ।