नेभिगेशन
समाचार

शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरुसँग वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।

आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको भन्दै आयोगले त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै हुन्छ । तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको छ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । तर सरकारले उनीहरुका मागका सम्बन्धनमा ठोस निर्णय गरेको छैन । आन्दोलनका कारण उपत्यकाको सवारी आवागमनसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update