प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल चाहिने बताएका छन्।
नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र उत्साहको कामना गर्दै उनले कठिनाइका बाबजुद प्राप्त उपलब्धिलाई आधार बनाएर उज्ज्वल भविष्यतर्फ अघि बढ्ने विश्वास उनकाे छ।
‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छौं। यो वर्षले हामीमा आशा, उत्साह र सकारात्मक सोचको विकास गरोस् भन्ने विश्वास लिएको छु। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा लक्ष्य हो,’ उनले भनेका छन्।
प्रधानमन्त्रीले देशको साझा आकाङ्क्षा पूरा गर्न सरकार एक्लैको प्रयासले नपुग्ने भन्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीको मेहनत र योगदान आवश्यक रहेको बताए।
जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधतालाई उनले राष्ट्रको साझा सम्पत्ति भनेर एकताको शक्तिका रूपमा विकास गर्नुपर्नेमा उनकाे जाेड छ।
उनले मुलुकमा विकास सपना मात्र नभई यथार्थ बन्दै गएको, ग्रामीण भेगमा बनेका भौतिक पूर्वाधार, जनजीवनमा तिनको सकारात्मक प्रभाव र सामाजिक सेवामा भएको सुधार लोकतान्त्रिक प्रणालीको उपलब्धि भएको उल्लेख गरेका छन्।
युवाहरू राष्ट्रका सम्भावना भएको भन्दै उनले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने सरकारी नीति रहेको उनकाे दाबी छ।
‘लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, अँगाल्ने, उत्सवका रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ। निराशा फैलाएर देशलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा विश्वास राखेर अघि बढ्नुपर्छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्। रासस