गत सोमबार बिहान धरान उपमहानगरपालिका-६ पानबारीस्थित पाँचकन्या वनभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवम् एसपी सुमनकुमार तिम्सिनाका अनुसार ती महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ३३ वर्षीया चुनकुमारी (चुनिला) बुढाथोकीका रुपमा परिवारले सनाखत गरेका छन् ।
माइती पक्ष र घरतर्फका आफन्तजनले बुधबार शवको सनाखत गरेका हुन् । शव सनाखत भएपछि अब अनुसन्धानलाई तीव्र पारिएको उनले बताए ।
बुढाथोकीको माइती र घर दुवै धनकुटाको महालक्ष्मी नगरपालिका हो । माइती वडा नम्बर १ र घर वडा नम्बर २ मा पर्छ ।
उनका श्रीमान् प्रेम हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको खुलेको छ । प्रेम कोरिया गएको ५ बर्षपछि यही घर आएका थिए । उनी घर आएर एक महिना बिदा सकेपछि फेरि कोरिया फर्किएका थिए । यता उनकी श्रीमती चुनिला भने डेढ वर्षदेखि इटहरीको हलगडामा डेरा लिएर बस्ने गरेकी थिइन् । यी बुढाथोकी दम्पतीका एक छोरा छन्।
मृतकको माइती पक्षका अनुसार कोरियाबाट प्रेम एक महिना विदामा आउदा पनि डेरामा श्रीमतिसँग ३ दिनमात्र बसेका थिए । प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाउन र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको मृतकका माइला दाजु दुर्गा दाहालले बताए ।
बुधबार दिउँसो मात्रै कोरियाबाट प्रेमले चुनिला चार दिनदेखि सम्पर्कमा नरहेको खबर पठाएका थिए । तर, पानबारीको जंगलमा एक महिलाको शव भेटिएको समाचार यता भाइरल भइसकेको थियो ।
प्रेम र चुनिलाले मागीबिहे गरेका थिए । विवाहको केही वर्षसम्म उनीहरूबीच सम्बन्ध राम्रो थियो । तर केही समयअघिबाट उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो। प्रेम कोरिया गएयता चुनिलासँग झन् सम्बन्ध बिग्रिएको खुलेको छ ।
चुनिलाकी दिदी सावित्राले ज्वाइँ अहिले सम्पर्कमै आउन नचाहेको बताइन् । चुनिला बेपत्ता हुँदा पनि प्रेमले कुनै चासो नदिएको उनको भनाइ छ ।
चुनिलाका ससुरा सूर्यबहादुर बुढाथोकीले प्रेमले बुधबार मात्रै फोन गरेपछि बुहारी हराएको जानकारी पाएको बताएका छन् । उनले धरानको पानबारी जंगलमा भएको शव हेर्दा बुहारीकै रुपमा पहिचान भएको बताए ।
सूर्यबहादुरले बुहारीसँग आफूहरूको सम्बन्ध नराम्रो नरहेको बताएका छन् । तर उनले छोरासँगको सम्बन्धबारे आफूलाई थाहा नभएको जवाफ दिएका छन्। उनले छोरो पढाउन भन्दै बुहारी धनकुटाबाट सु्नसरी झरेको पनि बताए ।