नेभिगेशन
समाचार

५० मेगावट क्षमताको हाइड्रोपावरको काम अन्तिम चरणमा,

ताप्लेजुङमा निर्माणधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माणका कार्य अन्तिम चरणमा पुगेको हो ।

हालसम्ममा करिब ९० प्रतिशतभन्दा बढी निर्माणको कार्य सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकृत आशिष केदेम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ सालको असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने तयारीका साथ निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।

आयोजनाको पेनस्टक पाइप जडानको कार्य र विद्युत गृहको केही कार्य बाँकी रहेको जनसम्पर्क अधिकृत लिम्बुको भनाइ छ । त्यस्तै विद्युत गृहबाट आठ किलोमिटर टाढा रहेको एक सय ३२ केभिए ढुङ्गेसाँघु सबस्टेसनसम्मको तार बिछ्याउने कार्य समेत अन्तिम चरणमा पुगेको छ । विद्युत गृहबाट सबस्टेसनसम्म २८ वटा टावर निर्माण गरिएको छ । जसको करिब ५ प्रतिशत मात्रै तार बिछ्याउने कार्य बाँकी रहेको लिम्बूले जानकारी दिनुभयो ।

मेरिङ्देन गाउँपालिकाको थुकिमा र लिबाङको नावा क्षेत्रमा ड्यामसाइड निर्माण गरी मेवाखोलाको पानी प्रयोग गरेर उत्पादन हुने आयोजनाको कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । ड्यामसाइडबाट चार दशमलब ८ किलोमिटरको सुरुङमार्गमार्फत पावर हाउसमा पानी पु¥याइने छ । आयोजनाको पावर हाउस खाम्लुङको मुनितर्फको भेग खोला खेतमा निर्माण गरिएको छ ।

नौ अर्बको लागतमा सम्पन्न हुने आयोजनाको अति प्रभावित क्षेत्रहरूमा थुकिमा, लिङतेप, खाम्लुङ, लिबाङ, मिक्वाखोला गाउँपालिकाको १ नम्बर वडा खोक्लिङ, आठराई त्रिवेणी गाउँपालिकाको ५ नम्बर वडा चाँगे र मैवाखोला गाउँपालिकाको १ नम्बर वडा ढुङगेसाँघु परेका छन् ।

आयोजनाले आइपिओ निष्कासनका लागि नेपाल धितो पत्र बोर्डमा दिएको आवेदन प्रक्रियामा रहेको बताइएको छ । जसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update