नेभिगेशन
समाचार

कांग्रेसको जिम्मेवारीबाट बाहिरिए एकनारायण अधिकारी, बाँसगढीको राजनीतिमा नयाँ तरङ्ग — अबको यात्रा कुन बाटो ?

बाँसगढी नगरपालिका नेपाली कांग्रेस नगर कार्यसमितिका नगर सचिव एकनारायण अधिकारीले आजदेखि आफू नेपाली कांग्रेसको कुनै पनि जिम्मेवारीमा नरहेको स्वघोषणा गरेपछि बाँसगढीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
अधिकारीले आफ्नो आधिकारिक फेसबुकमार्फत लेखेका छन्, “आजकै मितिबाट नेपाली कांग्रेसको कुनै पनि जिम्मेवारीमा नरहने स्वघोषणा गर्दछु। मलाई विश्वास गरेर विभिन्न जिम्मेवारी दिनुहुने सम्पूर्ण अग्रज नेतृत्व, शुभेच्छुक महानुभावहरू सबैमा सम्मान छ। कसैसँग कुनै गुनासो छैन।”
          उनको यो घोषणासँगै अब उनको राजनीतिक यात्रा कुन दिशातर्फ अघि बढ्छ भन्ने विषयले चर्चा पाएको छ।
को हुन् एकनारायण अधिकारी ?
एकनारायण अधिकारी बाँसगढी क्षेत्रमा राजनीतिक व्यक्तित्व मात्र नभई सामाजिक अभियन्ता, युवा नेतृत्वकर्ता र समाज रुपान्तरणका लागि सक्रिय व्यक्तिका रूपमा चिनिन्छन्। नेपाली कांग्रेससँग आबद्ध रहे पनि उनी पार्टीको सीमाभित्र मात्र सीमित नरही समाजका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

             खेलकुद, शिक्षा, स्वास्थ्य, युवा नेतृत्व विकास, कला–संस्कृति, भाषा, धर्म, पर्यटन प्रवद्र्धन तथा सामाजिक अभियानमा उनको सक्रियता देखिँदै आएको छ। सफल व्यवसायीका रूपमा समेत परिचित अधिकारीले समाजका आवश्यकता र जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन्।
सामाजिक सेवामा सक्रिय भूमिका
अधिकारीको पहलमा पटक–पटक रक्तदान अभियान सञ्चालन भएका छन्। कोरोना महामारीको समयमा बिरामीहरूको मनोबल बढाउने, मास्क वितरण गर्ने, क्वारेन्टाइन व्यवस्थापनमा पहल गर्ने लगायतका काममा उनी सक्रिय देखिएका थिए।
आर्थिक अवस्था कमजोर भएका परिवारलाई उपचार सहयोगदेखि दैनिक जीवनयापनका लागि आवश्यक सहयोग जुटाउने काममा समेत उनको भूमिका रहँदै आएको स्थानीयहरू बताउँछन्।


   उनका समर्थकहरूका अनुसार अधिकारीको राजनीति पदका लागि मात्र नभई समाजसेवामार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यमा केन्द्रित रहेको छ।
बाँसगढीवासीको अपेक्षा र नयाँ प्रश्न
बाँसगढी नगरका धेरै युवा, आमाबुबा तथा दिदीबहिनीहरूले अधिकारीलाई स्थानीय नेतृत्वमा अझ ठूलो भूमिकामा हेर्न चाहेको बताउने गरेका छन्। समाजमा लोकप्रिय छवि बनाएका अधिकारीले कांग्रेसको जिम्मेवारी छाड्ने निर्णय गरेपछि उनका समर्थक र शुभेच्छुकहरूबीच अबको राजनीतिक कदमबारे चासो बढेको छ।
 के उनले सक्रिय राजनीति नै छाड्ने हुन् ? वा नयाँ राजनीतिक यात्राको सुरुवात गर्नेछन् ? भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ।


रास्वपातर्फ जाने चर्चा
अधिकारीका निकट साथीभाइ तथा शुभेच्छुकहरूले भने उनी अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नयाँ राजनीतिक यात्रामा सक्रिय हुन सक्ने अनुमान व्यक्त गरेका छन्। यद्यपि अधिकारीले भने आफ्नो आगामी राजनीतिक कदमबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

1000047271-1781968848.jpg
1000047271-1781968848.jpg

कांग्रेसबाट अलग भएको घोषणा गरेसँगै बाँसगढीको राजनीतिमा नयाँ समीकरणको सम्भावना देखिएको छ। लामो समय सामाजिक काममा सक्रिय अधिकारीको आगामी निर्णयले बर्दियाको राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update