जाजरकोट । छेडागाड नगरपालिकाका गणेश अधिकारी जिल्ला मालपोत कार्यालय जाजरकोटमा जग्गा साटफेर गर्ने कामका लागि पुगे । सबै कागजी प्रक्रिया पु¥याएर आएका उनको काम अघि बढेन् ।
‘मैले सबै कागजात मिलाएर आएको थिए, उनले भने, ‘कर्मचारीले तपाईको कागजात मिलेन हुन्न भन्दै थर्काए, अव के गर्नुपर्ने भयो त ? भन्दै मैले सोधे ।’
‘त्यसपछि नजिकै रहेका अन्य सेवाग्राही सँग बुझ्दा कर्मचारीलाई थोरै पैसा दिनुपर्छ नत्र काम हुदैन्, उनले थपे, ‘मैले पनि त्यसपछि केही पैसा दिए, अनि मेरो काम भयो, म सँग होटल बस्ने पैसा थिएन् केही पैसा कर्मचारीलाई दिने वित्तिकै मेरो काम भयो म घर लागे ।’
उनी मात्रै होइनन् मालपोतका कर्मचारीले पैसा मागेका सेवाग्राही । पछिल्लो समय मालपोत कार्यालय खुलेआम भ्रष्टाचारको अखडामा परिणत भएको आरोप सेवाग्राहीहरूबाट उठ्न थालेको छ । सामान्य कामकाजका लागि आउने सेवाग्राहीहरू सेवाको साटो घुस नतिरी सेवा नपाउने अवस्था रहेको गुनासो गर्छन् ।
सेवाग्राहीहरूका अनुसार साना कागजी प्रक्रिया पूरा गर्न समेत कर्मचारी वा लेखापढी गर्ने व्यवसाय मार्फत रकम तिर्नुपर्ने बाध्यता छ । “फर्म भर्ने, नापी मिलाउने वा नामसारी जस्ता सामान्य काममा समेत खुलेआम पैसा मागिन्छ । नतिरेको खण्डमा काम अघि बढ्दैन”, एक सेवाग्राहीले भने । सामान्य नागरिकले आफ्नो जग्गा दाखिला, नामसारी, कित्ताकाट वा लालपुर्जा लिन जाँदा अनेकौं सास्ती भोग्नुपरेको गुनासो दिनहुँजसो सार्वजनिक भइरहेका छन् ।
मालपोत कार्यालय वरिपरि सक्रिय रहेका लेखापढी व्यवसायको चलखेल झनै बढ्दै गएको देखिन्छ । यी व्यवसायीहरु कर्मचारीसँग मिलेमतोमा सेवाग्राहीसँग मनपरी रकम असुल्ने गरेको आरोप छ ।
दोहोरो मारमा सेवाग्राही
कानुन बमोजिम लेखापढी व्यवसायलाई दिनुपर्ने पैसा दिएपनि कर्मचारी र व्यवसायीलाई पैसा बुझाउँदा सेवाग्राहीहरु दोहोरा मारमा पर्ने गरेको गुनासो गरेका छन् ।
‘हामी लेखापढी व्यवसायीलाई पैसा दिन्छौं, एक सेवाग्राहीले भने, ‘उहाँहरु पछि कार्यालयमा बुझायौं, हामीलाई दिनुहोस् भन्दै बाटोमा पैसा माग्न आउनुहुन्छ, मैले त धेरै पटक दिईसकेको छु ।’ उनले थपे, ‘मैले कानुनबमोजिम तिर्नुपर्ने सबै रकम तिरे, तरपछि पैसा भित्र कर्मचारीलाई बुझाउनुपर्छ भन्दै माग्नुभयो ।’
बेलुका कर्मचारीलाई पैसा बुझाउनुर्छ
‘कार्यालय प्रमुख देखि कर्मचारी सबैको सेटिङ हुन्छ, एक लेखापढी व्यवसायीले भने, केही प्रतिशत पैसा माग्छन्, नदिए लिएको फाईल फालिदिन्छन्, पैसा बुझाउने लेखापढी व्यवसायीको काम सरासर गरिदिन्छन् ।’
सेवाग्राहीको काम समयमै सक्न कर्मचारीलाई पैसा दिने गरेको उनको भनाई छ । ‘दिनभरी कति काम हुन्छ, उनले थपे, ‘त्यही अनुसार हामीले कर्मचारीलाई पैसा दिन्छौं ।’ ‘पैसा नदिए काम गर्नै मान्दैनन्, हामीलाई सेवाग्राही अत्याउँछन्, त्यसपछि सेवाग्राहीको मन जित्न हामी पैसा दिन्छौं’ उनले भने ।
एक महिना अघि त प्रत्येक काम वापत कर्मचारीलाई पैसा बुझाउने गरेको उनले बताए । त्यसपछि केही विवाद भयो, अनि अहिले खुलेआम माग्न सकेका छैनन्, काम रोकिदिएपछि दिनैपर्ने बाध्यता रहेको उनको भनाई छ । बेलुका लेखापढी व्यवसायी बाट पैसा माग्ने गरेको उनले बताए ।