काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको विषयमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर आपत्ति जनाएको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
समितिले पूर्वराजालाई जरिवाना तोकेर भ्रम र अनास्था फैलाउन खोजिएको आरोप लगाएको छ। ‘चैत १५ गते काठमाडौं, तीनकुनेमा आयोजित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर सम्पन्न गरेको कार्यक्रममा वातावरण प्रदूषणको आरोप लगाई महानगरपालिकाले "श्री ज्ञानेन्द्र शाह निर्मल निवास" भन्ने उल्लेख गर्दै जरिवाना पत्र पठाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
समितिले उक्त पत्राचारलाई पूर्वराजासँग सम्बन्धित भ्रम सिर्जना गर्ने प्रयासको रूपमा व्याख्या गरेको छ। ‘उक्त कार्यक्रम कानुन बमोजिम नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृतिमा सम्पन्न भएको अभिलेखमा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।
यस घटनाले काठमाडौं महानगरपालिकाको निर्णयलाई लिएर विभिन्न कोणबाट चर्चा भइरहेको छ भने पूर्वराजासम्बद्ध समूहहरू यसको विरोधमा उत्रिएका छन्।