जाजरकोटमा पशु स्वास्थ्य शिविर सञ्चालन, ८०५१ पशु-पन्छीलाई सेवा
जाजरकोट, [मिति२०८१-१२-१७] – पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको आयोजना र कुशे गाउँपालिका पशु पन्छी विकास शाखाको समन्वयमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविर कुशे गाउँपालिका–३, टापुचौरमा सञ्चालन गरिएको थियो।
शिविरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायको नेतृत्वमा पशु विशेषज्ञ डा. भानुभक्त गौतम, डा. उमेश थापा मगरसहित ७ जना पशु प्राविधिकको टोली सहभागी रहेको थियो।
शिविरमा कुशे गाउँपालिका वडा नं. २, ३ र ४ का किसानलाई लक्षित गरी पशु स्वास्थ्य सेवा प्रदान गरिएको थियो। पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका नायब पशु स्वास्थ्य प्राविधिक कमल सिंहका अनुसार शिविरमार्फत ८०५१ पशु-पन्छीलाई औषधि वितरण तथा रेबिज रोगविरुद्धको खोप लगाइएको छ। सेवा प्राप्त गर्नेमा गाईगोरु ४३५, राँगा/भैंसी २५४, भेडा १५०८, बाख्रा ५४३९, कुखुरा २७७, घोडा ६, कुकुर १३१ र बिरालो १ थिए।
शिविर सञ्चालनको उद्देश्य दुर्गम क्षेत्रका किसानलाई विशेषज्ञ सेवा उपलब्ध गराउँदै पशुपन्छीमा देखापर्ने विभिन्न रोगहरूको पहिचान र नियन्त्रण गर्नु रहेको बताइएको छ। यसले पशु स्वास्थ्य सुधार गर्दै कृषकहरूको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
नायब पशु स्वास्थ्य प्राविधिक कमल सिंहका अनुसार यस्ता शिविरहरूले स्वच्छ दूध, मासु र अण्डाको उत्पादन बढाएर मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ