नेभिगेशन
साहित्य

भूपी शेरचनबारे छोरीको संस्मरण बजारमा आएको छ

नेपाली कविताका शिखरपुरुष भूपी शेरचनबारे संस्मरण भूपी: छोरीको स्मृतिमा प्रकाशन भएको छ। भूपी शेरचनकी कान्छी छोरी कविता शेरचनले उक्त पुस्तक लेखेकी हुन्। यो पुस्तक भूपी: अ डटर्स मेम्वाएरको नेपाली अनुवाद हो।

आधुनिक नेपाली कविताका सर्वोच्च शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन्। कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो। कम्युनिस्ट आदर्श अँगालेका उनले विलासी र रवाफिलो जीवनशैली अपनाए। तर यही विरोधाभासका कारण उनी सिर्जनाभन्दा बढी किस्साहरूमा बाँच्नुपर्‍यो।

लेखक कविता भन्छिन्, ‘कवि भूपी शेरचनबारे मैले अनेकौं किस्सा सुनेकी छु। केही सत्य तर धेरै कपोलकल्पित! तिनै किस्साहरूलाई मैले पुस्तकमार्फत रहस्योद्घाटन गर्ने प्रयास गरेको छु।’

उनी थप्छिन्, ‘सम्पन्न परिवारमा जन्मेर पनि बुबाले किन साम्यवादी दर्शन अँगाल्नुभयो? सर्वहारा कवि कालान्तरमा कसरी राजावादी बन्न पुग्नुभयो? साथीभाइ र परिवारसँग उहाँको सम्बन्ध कस्तो थियो? यस्ता प्रश्नको उत्तर दिँदै उहाँका जीवनका विभिन्न पाटा केलाउने र पाठकसमक्ष ल्याउने मेरो प्रयास यो पुस्तक।’

नयाँ नेपाली पाठकलाई नेपाली साहित्यका महान् व्यक्तित्वबारे जानकारी गराउने र उनीहरूमा हाम्रा साहित्यिक सम्पदाप्रति श्रद्धा जगाउने प्रयासस्वरुप शृङ्खलाबद्ध रूपमा आफूहरूले ती व्यक्तित्वहरूबारे संस्मरण एवम् जीवनी प्रकाशन गर्दै आएको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नीरज भारीले बताए।

‘त्यही शृङ्खलाअन्तर्गत हामीले भूपीः छोरीको स्मृतिमा प्रकाशन गरेका हौँ। यसअघि हामीले गोविन्द गिरी प्रेरणाले लेखेको पारिजातको जीवनी सुश्री पारिजात र लक्ष्मीप्रसाद देवकोटाबारे छोरा पद्म देवकोटाले लेखेको संस्मरण सम्झनामा बुबा लक्ष्मीप्रसाद देवकोटा प्रकाशन गरेका छौँ।’

भूपी : छोरीको स्मृतिमामा कविताले बुवा भूपीसँगको भावनात्मक सम्बन्ध, उनीबारे चलेका हल्ला र व्यक्तित्व निर्माणका कारक केलाएकी छन्।

सँगसँगै धनाढ्य पिताका सर्वहारा कविदेखि समाजवादी कवि भूपी शेरचनसम्मको यात्रा पनि वर्णन गरेकी छन्। यो किताब छोरीको स्मृति मात्रै होइन, भूपीसँग सम्बन्धित प्रश्नहरूको एकमुष्ट जवाफ र शेष शङ्काहरूको भद्र स्पष्टीकरण पनि हो।

भूपीलाई सबभन्दा नजिकबाट चियाउन सहयोग गर्ने यस किताबले बाहिर चम्किलो र आकर्षक तर भित्र अथाह पीडा बोकेका कवि भूपीको अन्तरङ्ग चित्रमाथि प्रकाश पार्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update