नेभिगेशन
समाचार

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा काठमाडौंमा प्रदर्शन, दलित अभियन्ताहरू र प्रहरीबीच झडपको स्थिति

काठमाडौं, चैत ८ – अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म दलितका लागि दलित अभियान, नेपालले प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा दलित अधिकारका लागि आवाज उठाएका अभियन्ताहरू र सुरक्षाकर्मीबीच तनाब सिर्जना भएको थियो।

प्रदर्शनमा सहभागी अभियन्ताहरू संसद भवनसम्म पुग्न खोजेपछि सुरक्षा निकायले निषेधित क्षेत्र उल्लंघन गर्न नदिन अवरोध गरेको थियो। निषेध क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। केही प्रदर्शनकारीहरूले काँडेतार हटाउन खोज्दा स्थिति अझै तनावग्रस्त बनेको थियो।

प्रदर्शनका क्रममा केही अभियन्ताहरूले अर्धनग्न भएर ‘यो मेरो छातीमा गोली हान गृहमन्त्री!’ भन्दै सरकारलाई चुनौती दिए। उनीहरूले आफ्नो आन्दोलनलाई ‘ट्रेलर’ मात्र भएको दाबी गर्दै अझ सशक्त आन्दोलन आउने चेतावनीसमेत दिए।

दलित अधिकारको सुनिश्चितता र कानुनी सुरक्षाका लागि निरन्तर दबाब दिने उद्देश्यले गरिएको प्रदर्शनमा ‘समान अवसर, समान अधिकार’, ‘जातीय विभेद अन्त्य गर’ जस्ता नारा घन्किएका थिए।

नेपालमा अझै पनि दलित समुदाय विभिन्न क्षेत्रमा विभेदको शिकार भइरहेका छन्। उनीहरूको अधिकारका लागि गरिएको यो प्रदर्शनले सामाजिक न्यायको मुद्दा पुनः सतहमा ल्याएको छ। घटनामा कुनै अप्रिय घटना भने नभएको र अवस्था नियन्त्रणमै रहेको सुरक्षा निकायले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update