नेभिगेशन
समाचार

चन्द्र भण्डारीको आक्रोश: ‘हामीले बदमासी गरेका छौँ, त्यसैले डराएका छौँ’

काठमाडौं । नेपाल कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा स्थापित प्रजातन्त्रको सही उपयोग गर्न नसकेको भन्दै तीव्र आलोचना गरेका छन्। नेपाल कांग्रेसका महानायक गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान नेतृत्वप्रति कडा प्रश्न उठाए।

‘यत्रो प्रजातन्त्र ल्याएर हामीले शासन गर्‍यौँ, मन्त्री भयौँ। आफ्ना मन लागेकालाई मन्त्री र टिकट दिएका हौँ। तर, तिनले के परिवर्तन गरे?’ भण्डारीले प्रश्न गरे।

उनले देशको समग्र राजनीतिक व्यवस्थामा सुधार हुनुपर्ने भन्दै नेताहरूले आफ्नै स्वार्थका लागि गरिबीको फाइदा उठाएको आरोप लगाए। ‘वरिपरि गरिब राखेर बीचमा ठुलो घर बनाउनेभन्दा वरिपरि गरिबको ठुलो घर बनाएर आफ्नो घर बनाएको भए, आज हामी कहाँ पुग्थ्यौँ ? यही हो कुरा,’ भण्डारीले भने।

राजनीतिक दलहरू जनताबाट टाढिँदै गएको भन्दै उनले सडकमा हजारौँको जुलुस निस्किँदा पनि नेतृत्व त्रसित हुनुको पछाडि गहिरो कारण रहेको बताए। ‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किँदा हामी किन तर्सिरहेका छौँ ? किनभने हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update