चैत्र, ५ काठमाडौँ । यतिबेला त्रिभुवन विश्वविधालय अन्तर्गतका आंगिक र मान्याताप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विधार्थी युनियन (स्ववियू ) को चुनावले माहोल गरमागरम् जस्तै छ।
तर त्रिभुवन विश्वविधालय अन्तर्गतका उपत्यकाका ठुला क्याम्पसहरुमा भने स्ववियू निर्वाचनकै कारण क्याम्पसका गेट र ढाेकामा लागेकाे भोटेताल्चाले समग्र क्याम्पस प्रशासन देखि लिएर विधार्थीहरुलाई जिस्काइरहेको जस्ताे दृश्य देख्न सकिन्छ।
त्रिभुवन विश्वविधालयले यही चैत्र ५ गते आफ्ना आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियू चुनावको घोषणा गरेको थियो। सोही घोषणा अनुसार नै विभिन्न पार्टीका भातृ संगठन र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी प्रचारमा व्यस्त हुँदा उपत्यकाकै केही प्रमुख क्याम्पसहरुमा झुण्डिएको भोटेताल्चाले स्ववियू चुनावलाई मात्रै हैन क्याम्पसको समग्र पठनपाठन क्रियाकलापलाई प्रभावित बनाईरहेको छ। तर विधार्थीका लागि विधार्थी राजनीति गर्छौं भन्ने संगठनका विधार्थी नेताहरु भने क्याम्पसहरुका गेट गेटमा झुण्डिएका भोटेताल्चा सङ्ग बेखबर छन्।
उसो त आज स्ववियू चुनावको मतदानको दिन हो। तर उपत्यकाका अधिकांश ठुला सरकारी क्याम्पसहरु लागेको भोटेताल्चाका कारण अनिर्णयको बन्दी जस्तै बनेका छन्। अहिले बागबजारस्थित शंकरदेव क्याम्पस, प्रदर्शनीमार्गस्थित आर.आर. क्याम्पस, जमलस्थित त्रिचन्द्र क्याम्पस, किर्तिपुरस्थित केन्द्रिय क्याम्पस, प्रदर्शनीमार्गस्थित नेपाल ल र विश्वभाषा क्याम्पस, क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पस, ठमेलस्थित सरस्वती क्याम्पस, लेखनाथ मार्ग, लैनचौरस्थित अमृत साईन्स क्याम्पस लगायतका विभिन्न क्याम्पसका मुख्य गेटहरुमा भोटेताल्चा झुन्डिरहेको छ। जसले अनिर्णयको बन्दी बनिराखेको क्याम्पसको नियमित पठनपाठन सुचारु गर्न भोटेताल्चा फोड्ने हतौडा कुरीरहेको छ। तर विधार्थी राजनीतिका नाममा आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्त भएका विधार्थी नेता भनाउदाहरुलाई यो कुरासँग कुनै परवाह नै छैन।
वि.स. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘सैनिक कू’ गरे । २००७ सालको जनसंघर्षबाट प्राप्त प्रजातन्त्रलाई अपदस्त पारे । त्यतिबेला क्रियाशिल रहेका सबै राजनैतिक दलहरूमाथि प्रतिबन्ध लगाए भने नेताहरूलाई नजरबन्दमा राखे । पञ्चायती व्यवस्थाको विरोधमा उठ्ने आवाजलाई रोक्न किसान, मजदुर, भूपू सैनिक, महिला, बाल, युवा र विद्यार्थी संगठनहरुमा प्रतिबन्ध लगाइयो, प्रतिबन्ध मात्रै लगाईएन त्यस्ता आवाज दबाउन राजा महेन्द्रको निरंकुश सत्ता हदैसम्म लागिपरेको ईतिहास जिउदै छ । त्यो निरंकुश शाहीसत्ताले राजनैतिक दलमाथि प्रतिबन्ध लागेको बेला विभिन्न विद्यार्थीहरू संगठित भएर तत्कालिन राज्यको दमनका विरुद्ध लड्न थाले र यसैक्रममा उनीहरुले स्वतन्त्र विद्यार्थी युनियन गठन गरे । अहिले यदाकदा सुनिन्छ स्ववियूको त कामै छैन तर स्ववियू नेपालका हरेक प्रजातान्त्रीक आन्दोलनको एक महत्वपुर्ण हिस्सा हो । २०१७ सालको राजा महेन्द्रको शाही कु विरुद्दको आन्दोलन देखि २०३६ सालको जनमत संग्रह, २०४७ सालको प्रजातान्त्रीक आन्दोलन र २०६२/६३ मा भएको व्यवस्था परिवर्तनमा स्ववियूको भूमिका एक महत्वपुर्ण पिलरको रुपमा रहेको ईतिहास अहिले पनि उस्तै छ । तर पछिल्लो समयमा भने विधार्थी संगठन आफै त्यो गर्विलो ईतिहासलाई रछ्यानमा मिल्काईएको फोहोर जस्तै गरीरहेका छन्।
आफ्नो व्यक्तिगत र सांगठनिक महत्वाकांक्षाको कारण कुनै बेला सिङ्गो व्यवस्था परिवर्तनको सारथी बनेको स्ववियूको त्यो गर्विलो ईतिहास कतै कसैले नदेख्ने गरी एक्लै रोईरहेको छ। व्यक्तिगत र सांगठनिक खिचातानीका कारण विधार्थी राजनिती र विधार्थी संगठनहरु माउ पार्टीको क्यानभास् बाट माथि उठ्न सकेका छैनन् ।
वि.स. २०३६ मा पहिलोपल्ट भएको स्ववियू त्यसयता २०६५ सम्म निरन्तर रुपमा हुँदै आएको थियो । तर २०६५ पछि भने विधार्थी संगठनका यस्तै गतिविधीका कारण स्ववियू निरन्तर रुपमा हुन सकिरहेको छैन। लगभग ८ वर्षको पर्खाइपछि २०७३ मा देशका केही आंशिक कलेजहरुमा स्ववियु चुनाव भयो । तर त्यसपछि निरन्तर हुने भनिएको स्ववियु चुनाव फेरी २०७९ सम्म हुन सकेन। २०७३ जस्तै २०७९ मा पनि केही आंशिक क्याम्पसहरुमा मात्रै स्ववियू चुनाव भयो। अहिले फेरी २०८१ मा त्रिभुवन विश्वविधालय अन्तर्गतका देशैभरका अधिकांश क्याम्पसहरुमा चुनावी माहोल तातिरहदा यता उपत्यकाका मुख्य क्याम्पसमा भने भोटेताल्चाले क्याम्पसको हेरचाह गरीरहेको छ।