धनगढीमा प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनको तयारी, दलित एकताका लागि नयाँ कोर्सको घोषणा
धनगढी, चैत्र ३ — दलित समुदायको एकता र सशक्तिकरणका लागि प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनको तयारी तीव्र पारिएको छ। शनिबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले दलित समुदायको मुक्ति र एकताको लागि गोलमेच सम्मेलन ऐतिहासिक बन्ने दाबी गरे।
"दलितहरू एकजुट नभएकै कारण आजसम्म मुक्ति सम्भव हुन सकेन," उनले भने, "पहिलो पटक आयोजना हुन लागेको यो सम्मेलनले दलित आन्दोलनमा नयाँ बाटो खोल्नेछ। सत्ता र शक्तिमा पहुँच नहुनुले हामी अझै विभेद र हिंसाको शिकार छौं।"
डा. विश्वकर्माले पार्टीगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण दलित समुदायले साझा आवाज बुलन्द गर्न आवश्यक रहेको बताए। "हामी अरूलाई सत्तामा पुर्याउने भर्याङ मात्र बन्नु हुन्न, अब आफैं सत्तामा पुग्नुपर्ने समय आएको छ," उनले जोड दिए।
कार्यक्रममा साहित्यकार सरोज दिलु विश्वकर्माले सम्मेलनका लागि विषयवस्तु तय गर्न सबै सरोकारवालासँग छलफल सुरु गरिएको जानकारी दिए। दलित अभियन्ता, राजनीतिक नेताहरू, बुद्धिजीवी, मन्त्री र सांसदहरूसँग सहकार्य गर्दै सम्मेलनका एजेन्डा तय गरिनेछ।
गोलमेच सम्मेलनका प्रवक्ता अग्नि शीखाले अन्तरक्रिया कार्यक्रमको सुरुवात धनगढीबाट गरिएको र चैत्र ३ गते सुर्खेत, ४ गते नेपालगञ्जमा कार्यक्रम आयोजना गरिने बताए। सम्मेलनको मुख्य कार्यक्रम वैशाखमा काठमाडौंमा हुनेछ।
अन्तरक्रियामा विभिन्न दलित अभियन्ता र राजनीतिक दलित प्रतिनिधिहरूले दलित समुदायले भोग्दै आएका समस्या र समाधानका उपायहरू प्रस्तुत गरे। कैलास आउजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरत भुलको संयोजकत्वमा सुदूरपश्चिम प्रदेश समन्वय समिति गठन गरिएको छ।
सम्मेलनमार्फत दलित मुक्तिको दर्शन, राज्य र राजनीतिक दलहरूको नीति, दलित पहिचान, सामाजिक विभेद लगायतका विषयमा साझा एजेन्डा तय गरिने बताइएको छ।