नेभिगेशन
समाचार

कुशे गाउँपालिका–८ मा भीषण आगलागी: बालकको ज्यान गयो, परिवारका सदस्य घाइते

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ८, साँकट निवासी जनक ब. रोकायाको घरमा गए राति करिब १० बजे भीषण आगलागी हुँदा उनका छोरा अमर ब. रोकायाको मृत्यु भएको छ। खाना पकाउने चुल्होबाट सल्किएको आगोले घर पूर्ण रूपमा नष्ट हुनुका साथै परिवारका सदस्यहरू घाइते भएका छन्।

आगलागीमा घरमूली जनक ब. रोकाया र उनकी श्रीमती बिजुली रोकाया घाइते भएका छन्। सात सदस्यीय परिवार रहेको उक्त घरमा अन्य सदस्यहरू भागेर ज्यान जोगाउन सफल भए। आगलागी तल्लो तलासम्म फैलिन नपाउँदा घरमा रहेका पशुचौपाया भने स्थानीयबासीको पहलमा बचाउन सफल भएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्दार तथा राहतको कार्य अघि बढाइरहेका छन्। आगलागीका कारण घरमा रहेका अन्न, लत्ताकपडा, नगदसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। हाल पैक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ भने जिल्ला प्रहरी कार्यालयको टोली पनि थप अनुसन्धान तथा उद्दारका लागि घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ।

यस दर्दनाक घटनाले स्थानीय समुदाय शोकमा डुबेको छ। पीडित परिवारलाई आवश्यक राहत तथा सहयोगको माग गरिएको छ भने आगलागीको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

स्रोत: पृथ्वी रेडियो स्टेशन म्यानेजर सरु बस्नेत,

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update