नेभिगेशन
समाचार

ज्ञानेन्द्रको काठमाडौं फिर्ती र राजावादीको प्रर्दशनले राजनीतिक दलहरूमा हलचल

ज्ञानेन्द्रको काठमाडौं फिर्ती र राजावादीको प्रर्दशनले राजनीतिक दलहरूमा हलचल

 

ज्ञानेन्द्रको काठमाडौं फिर्ती र राजावादीको प्रर्दशनले राजनीतिक दल

 

 

 

एक साता बढी समय पूर्वराजा ज्ञानेन्द्र शाह पोखरालाई आधार क्षेत्र बनाएर आफ्नो गतिविधि गरे । त्यहाँ रहँदा पूर्व राजा ज्ञानेन्द्रले सपरिवार पोखरा र आसपासका धार्मिकस्थल भ्रमण पनि गरे । ज्ञानेन्द्रको पोखरा भ्रमण राजनीतिक नभइ नितान्त धार्मिक नै थियो । पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न मन्दिरहरूको दर्शन गरेपछि पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए । सोही भ्रमण सकेर उनी आज दिउँसो काठमाडौं फर्किन लागेका छन् ।  उनको स्वागतमा राजावादीहरूले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् ।

पोखरा भ्रमण अघि प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्थाको पुनर्स्थापनाको विषय उठाएका थिए । त्यसयता राजसंस्थावादी समूहहरूले आन्दोलनलाई तीव्रता दिएका छन् । उनीहरू चाँडै नै राजसंस्था फर्किने दाबी गरिरहेका छन् । 

पूर्वराजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरूमा सक्रिय भइरहँदा त्यहाँ राजावादीहरूको गतिविधि पनि ह्वात्तै बढेको थियो ।  संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरामा प्रदर्शन गरेर शक्ति प्रदर्शन गर्यो भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले पनि पोखरामा सभा गर्यो । आज भने राजावादी पार्टी र सङ्घसंस्थाहरूले सामूहिकरुपमा राजतन्त्रको पुनर्बहालीको लागि काठमाडौंमा ज्ञानेन्द्रको स्वागत गर्दैछन् । 

ज्ञानेन्द्र पोखराबाट जहाजमा दिउँसो करिब साढे २ बजेतिर काठमाडौंमा आउने छन् । उनको स्वागतमा राजावादीहरूले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् । उनीहरु काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट र्‍याली निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर पुग्नेछन् । र ज्ञानेन्द्रलाई महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याउने 


राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न सबैलाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘फागुन २५ गते दिउँसो १ बजे विमानस्थलमा उपस्थिति जनाउन सबैलाई हार्दिक निमन्त्रणा गर्दछु,’ भनेका छन् । साथै, जोसँग जुनसुकै सवारी साधन भए पनि त्यसै प्रयोग गरेर उपस्थित हुन आग्रह गरेका छन् ।

यस विषयलाई लिएर ठूला दलहरूमा पनि चर्चा चलिरहेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाको प्रयास नगर्न चेतावनी दिएका छन् । 

नेकपा माओवादी केन्द्रले तराईमधेस जागरण अभियान स्थगित गरेको छ । महासचिव देव गुरुङका अनुसार हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै गणतन्त्र पक्षधर दलहरूसँग थप छलफल आवश्यक रहेको भन्दै अभियान केही समयका लागि रोकिएको हो ।

राजसंस्था समर्थकहरूको प्रदर्शनलाई लिएर सत्तारूढ दल नेकपा एमालेका नेताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । शनिबार साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भएको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

कहाँकहाँबाट निस्कदै छ र्‍याली? 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुरबाट र्‍याली निकालिने छ । सो र्‍याली तिनकुनेमा जम्मा हुनेछ । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएर अर्को र्‍याली आउने छ ।  उक्त र्‍याली महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछ । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी अन्य समूहहरुले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि र्‍याली निकाल्ने तयारी छ । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्रलाई निर्मल निवासम्म पुर्‍याउने  छन् ।

सुरक्षा निकाय ‘हाई अलर्ट’मा

राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भीड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ । त्यस्तै नेपाली सेनालेसमेत राजावादीहरुको सक्रियतालाई नजिकबाट नियालि रहेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update