प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरूले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले लागेपछि दुई ठूला दल एकजुट भएर सरकार गठन गर्न बाध्य भएको बताएका छन्।
शुक्रबार कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्दै उनले नेकपा (एमाले) र नेपाली कांग्रेस एकअर्काका प्रतिस्पर्धी भए पनि व्यवस्था बदल्न खोज्नेहरूका कारण सँगै आएको तर्क गरे। उनले भने, ‘अहिलेको सरकार दुई ठूला पार्टीले बनाएको हो, जुन सामान्य अवस्थामा सम्भव हुँदैन। यी दुई पार्टी, जसमध्ये एउटाले अर्कोलाई उछिनेर ठूलो हुन चाहन्छ, त्यस्ता दलहरू मिलेर यो सरकार बनेको हो।’
उनले थपे, ‘अहिलेको अवस्था यस्तो छ कि देशको प्रणाली जोगाउन, देश नै बचाउन र अराजक तत्वहरूले विधि, संविधान, कानुन र प्रक्रियालाई बेवास्ता गरी शक्ति कब्जा गर्ने प्रयासलाई रोक्नुपरेको छ। उनीहरूको उद्देश्य स्पष्ट छैन– संविधान फालेर कस्तो व्यवस्था ल्याउने? कहाँ जाने?’
प्रधानमन्त्री ओलीले गणतन्त्र फालेर कुन व्यवस्थातिर फर्किन खोजिएको हो भनी प्रश्न गरे। उनले भने, ‘उनीहरूको सोच के हो? कुन प्रणाली ल्याउन खोजेका हुन्? संविधान फाल्ने, तर कस्तो संविधान ल्याउने? राणाशासन फर्काउने, पञ्चायत फर्काउने वा जहाँनियाँ शासनतिर जाने? उनीहरूसँग कुनै जवाफ छैन।’
उनले देशमा गन्तव्यहीन कुराहरू मौलाउँदै गएको स्वीकार गरे। उनले भने, ‘हरेक व्यक्ति आफूलाई राजाजस्तो ठान्छ। राष्ट्रपतिको अर्थ के रह्यो र? संविधानभन्दा माथि छु भन्ने व्यवहार गर्छन्। सामाजिक सञ्जालमा अश्लीलता र असभ्यता छताछुल्ल छ। यो हाम्रो सभ्यता र संस्कृति होइन। हामी सभ्य देशका सभ्य नागरिक हौँ। यस्तो असभ्यता हाम्रो संस्कार होइन।’ उनले देशको संस्कृति र राष्ट्रिय एकतामाथि आक्रमणको प्रयास भइरहेको आरोप पनि लगाए।
प्रधानमन्त्री ओलीले देशमा नियन्त्रित अस्थिरता फैलाउने प्रयास भइरहेको दाबी गरे। छिमेकी देशहरूको उदाहरण दिँदै उनले भीडले देशलाई कहीँ पनि पुर्याउन नसक्ने तर्क गरे। उनले भने, ‘श्रीलंकामा निर्वाचित राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई हटाइयो। केही दिनपछि फर्किए, तर दुई वर्ष अराजकता र भाँडभैलोमा बित्यो। फेरि त्यहीँ पुग्नुपर्यो। बंगलादेशमा पनि त्यस्तै भयो। संवैधानिक र लोकतान्त्रिक बाटो छोडेर अराजकता मच्चाउँदा केही हात लाग्दैन। संविधान नमान्नेले के मान्छन् त? जनमत र जनाधार नभएका केही उरन्ठेउला व्यक्तिहरूले देश सधैँ चलाउन सक्छन्? जनताको अनुमोदन चाहिँदैन?’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर रहेको र तलमाथि नहुने स्पष्ट पारे। उनले २०८४ को निर्वाचनपछि पनि दुई दलबीच सहकार्य सम्भव रहेको संकेत गरे। उनले भने, ‘केही साथीहरू सडकमा कराइरहेका छन्। उनीहरूलाई सोध्न चाहन्छु– कस्तो शासन ल्याउन खोजेका हुन्? आफूलाई लोकप्रिय ठान्नेले ८४ को निर्वाचन कुरोस्। चुनावमा स्वागत छ।’